महामारीपछि बढ्यो हेलिकप्टरको चार्टर्ड उडान, एक महीनामै तीन सयको उद्धार
कोभिड–१९ को संक्रमण जोखिमका कारण आर्थिक क्षमता हुने बिरामी र अत्यावश्यक परेकाहरूले हेलिकप्टरको चार्टर्ड उडान गर्ने क्रम बढ्दा सामान्य अवस्थाको तुलनामा यस्तो उडान शतप्रतिशतले बढेको छ।
हेलिकप्टरको चार्टर्ड उडान आम सर्वसाधारणका लागि निकै महँगो पर्छ। त्यसैले यसको प्रयोग आकस्मिक प्रयोजनमा मात्रै हुने गरेको छ। हेलिकप्टरको बढी प्रयोग गर्ने विदेशी पर्यटक पनि कोभिड–१९ महामारीका कारण आएका छैनन्, तैपनि हेलिकप्टरको उद्धार उडान पछिल्लो समय निकै बढेको छ। यसको कारण हो, कोभिड–१९ को संक्रमण जोखिमका कारण सुरक्षित विकल्पमा हेलिकप्टर पर्नु।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट हिमालखबरलाई प्राप्त तथ्यांक अनुसार, एक महीनामा नै हेलिकप्टरबाट करीब तीन सय वटा चार्टर्ड उडान भएका छन्। सामान्य अवस्थामा समग्रमा मासिक ८० देखि ९० वटा मात्रै चार्टर्ड उडान हुने गरेको वायुसेवा सञ्चालकहरू बताउँछन्।
प्राधिकरणको तथ्यांक अनुसार, ३ भदौदेखि ३ असोजसम्मको एक महीनामा विभिन्न १० वटा हेलिकप्टर कम्पनी मार्फत दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी र सामान्य बिरामीको २८९ वटा र कोरोना संक्रमितको ९ वटा उद्धार उडान भएको हो। तथ्यांकले यी हेलिकप्टर कम्पनीले दैनिक औसत ३० वटा उद्धार उडान गरेको देखाउँछ।
सामान्य अवस्थामा एउटा हेलिकप्टरको लागि सातामा दुई वटा मात्रै उद्धार उडानको माग आउने गरेकोमा अहिले दिनमै २/३ वटा उडान हुने गरेको कैलाश हेलिकप्टरका सञ्चालक प्रतापजंग पाण्डे बताउँछन्।
"सामान्य अवस्थामा एउटा हेलिकप्टरको लागि सातामा दुई वटा मात्रै उद्धार उडानको माग आउने गरेकोमा अहिले दिनमै २/३ वटा उडान हुने गरेको छ। कोरोना संक्रमण जोखिमका कारण आर्थिक क्षमता भएका बिरामीले सडक मार्ग प्रयोग नगरी हेलिकप्टर नै रोजेको देखिन्छ।" - प्रतापजंग पाण्डे, सञ्चालक, कैलाश हेलिकप्टर
“सामान्य अवस्थामा पर्वतारोहणको यो मौसममा विदेशीबाट उद्धार उडानको धेरै माग आउँथ्यो, तर महामारीपछि विदेशी नभएका कारण हेलिकप्टरले भाडा २० प्रतिशतसम्म घटाएका छन्”, पाण्डे भन्छन्, “कोरोना संक्रमण जोखिमका कारण आर्थिक क्षमता भएका बिरामीले सडक मार्ग प्रयोग नगरी हेलिकप्टर नै रोजेको देखिन्छ।”
सरकारले ७ चैत २०७२ मा हेलिकप्टरको चार्टर्ड उडानको भाडादर तय गरेको थियो। कम्पनी अनुसार फरकफरक दर भएको र बिरामीको उद्धारमा सहुलियत नभएको गुनासो बढेपछि सरकारले पाँच वर्षअघिको त्यही भाडादर लागू गरेको हो।
यस्तो भाडादर अनुसार, वेल २०६ र एएस ३५० बीथ्री नामका हेलिकप्टरको चार्टर्ड उडान दर १५ सय डलर, आर ४४ नामका साना हेलिकप्टरको दर प्रतिघण्टा १ हजार डलर र एमआई १७ नामक ठूला हेलकप्टरको भाडा प्रतिघण्टा ६ हजार अमेरिकी डलर छ। यही भाडादरको सीमाभित्र रहेर हेलिकप्टर कम्पनीले चार्टर्ड उडान गरेर बिरामी ल्याउनुपर्छ।
हेलिकप्टरको चार्टर्ड उडान सहज र छिटो हुने भएकाले खर्च गर्न सक्नेलाई सुविधा हो। यस्तै, दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, दुर्घटनाका घाइते वा अन्य आकस्मिक प्रयोजनका लागि अत्यावश्यक नै भएकाले पनि हेलि उद्धार बढेको मनाङ हेलिकप्टरका सीईओ राजु न्यौपाने बताउँछन्।
उनी भन्छन्, “बन्दाबन्दीको समयमा सडक यातायातसँगै जहाजको नियमित उडान बन्द भएको बेला पनि हेलिकप्टरको चार्टर्ड उडानको माग आउने गर्थ्यो, तर अहिले जस्तो ह्वारह्वार्ती चाहिँ त्यसबेला थिएन।”
कोराना–कालमा काठमाडौं उपत्यका बाहिरका बिरामीले संक्रमणको त्रास र उपचार सुविधा राम्रो पाउने अपेक्षाले हेलिकप्टरको चार्टर्ड उडान खोज्ने गरेका छन्। जसका कारण चार्टर्ड उडान बढेको वायुसेवा सञ्चालकहरू बताउँछन्।
“बन्दाबन्दीको समयमा सडक यातायातसँगै जहाजको नियमित उडान बन्द भएको बेला पनि हेलिकप्टरको चार्टर्ड उडानको माग आउने गर्थ्यो, तर अहिले जस्तो ह्वारह्वार्ती चाहिँ त्यसबेला थिएन।” - राजु न्यौपाने, सीईओ, मनाङ हेलिकप्टर
वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा हेलि एभरेष्टका सीईओ योगराज शर्मा कँडेल सडक मार्ग प्रयोग गर्दा सार्वजनिक यातायातमा समय लाग्ने र संक्रमणको जोखिम पनि हुने भएकोले मध्यम आय हुनेको रोजाइमा हेलिकप्टर चार्टर्ड परेको बताउँछन्। उनका अनुसार, अहिले चार्टर्ड उडानमा तराई क्षेत्रको मात्रै करीब ४० प्रतिशत हुने गरेको छ। सामान्य बिरामीको चार्टर्ड उडानका लागि हेलिकप्टर कम्पनीले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरेका छन्।
कोभिड–१९ का कारण पर्यटक आगमन ठप्प भएको र हेलिकप्टर कम्पनीहरूलाई नेपालीको चार्टर्ड उडान मात्रै आम्दानीको आधार भएकाले भाडामा पनि प्रतिस्पर्धा हुन थालेको छ। सरकारले तोकेको भन्दा पनि कम भाडामा उडानको प्रतिस्पर्धा हुने गरेको छ। अत्यावश्यक परेका बेला वायुसेवाले भनेजति नै रकम तिर्न सक्ने आर्थिक अवस्थाका बिरामी पनि आइरहेकाले प्रतिघण्टा रु.२ लाखदेखि ३ लाखमा उडान हुने गरेको हेलिकप्टर कम्पनीहरू बताउँछन्।
संक्रमितको उद्धारमा खटिंदै सीम्रिक एअर
सीम्रिक एअरले कोभिड–१९ का बिरामीको उद्धार गर्न थालेको छ। २६ असोजबाट कोरोना संक्रमित ओसार्ने सेवा शुरु गरेको सीम्रिकले दैनिक दुई जना बिरामीलाई सेवा दिंदै आएको छ।
सीम्रिक एअरका महाप्रबन्धक प्रेम थापाका अनुसार, स्वास्थ मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति लिएर हेलिकप्टरबाट कोरोनाका बिरामी उद्धार गर्न थालिएको हो।
सीम्रिकले एएस ३५० बीथ्री ई नामक ६ सिट क्षमताको हेलिकप्टरबाट संक्रमितको उद्धार गरिरहेको छ। संक्रमितका लागि दुई जना स्वास्थ्यकर्मी, दुई जना सहयोगी र पाइलट गरी पाँच जनालाई स्वास्थ्य मापदण्ड पालना गराएर उद्धारमा खटाउने गरिएको सीम्रिक एअरले जनाएको छ।
सीम्रिक एअरले एएस ३५० बीथ्री ई नामक ६ सिट क्षमताको हेलिकप्टरबाट कोरोना संक्रमितको उद्धार गरिरहेको छ। संक्रमितका लागि दुई जना स्वास्थ्यकर्मी, दुई जना सहयोगी र पाइलट गरी पाँच जनालाई स्वास्थ्य मापदण्ड पालना गराएर उद्धारमा खटाउने गरिएको सीम्रिक एअरले जनाएको छ।
यो कम्पनीले हेलिकप्टरबाट २६ असोजदेखि ३ कात्तिकसम्म विराटनगर, विर्तामोड, धरान, सिरहा, भरतपुर, बुटवल, पाल्पा र जुम्लाबाट ९ जनाको उद्धार गरेको छ। यस्तो चार्टर्ड उडानमा कम्पनीले बिरामी आफैंले तय गरेको अस्पतालमा पुर्याउने गर्छ। उद्धार गरिएका बिरामीमध्ये त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ग्रान्डी, मेडिसिटी र करुणा अस्पताल कपनमा एक/एक जना र बाँकी पाँच जनालाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा लगिएको छ।
नेपालमा कोरोना संक्रमण शुरु भएपछि संक्रमण बढ्दै जान सक्ने र अवस्था जटिल हुन सक्ने भएकाले पूर्वतयारी गर्नुपर्ने भन्दै सीम्रिकले चैतदेखि नै यस्तो उद्धारको तयारी गरेको महाप्रबन्धक थापा बताउँछन्। “हेलिकप्टरमा प्रयोग हुने कोभिड आइसोलेसन बक्स राखेर उद्धार गर्न थालिएको हो”, उनी भन्छन्।
सीम्रिकले कोरोनाका बिरामीलाई चार्टर्ड उडान गर्दा सामान्य अवस्थाको भन्दा रु. २ लाखदेखि ३ लाखसम्म बढी भाडा लिने गरेको छ। संक्रमितलाई ल्याउँदा स्वास्थ्यकर्मीको टोली राख्नुपर्ने, सुरक्षाको उपाय अपनाउनुपर्ने, जोखिम बढी हुने, एउटा अस्पतालबाट अर्कोमा लैजानुपर्ने अवस्था समेत आउन सक्ने, हेलिकप्टरलाई निस्संक्रमित गर्नुपर्ने बढी भाडा लागेको कम्पनीले जनाएको छ।
सीम्रिकले काठमाडौंबाट हेलिकप्टर विराटनगर पुगेर बिरामी ल्याउँदा साढे ५ लाख रुपैयाँ लिने गरेको छ। कम्पनीका अनुसार, सरकारले एस ३५० हेलिकप्टरका लागि प्रतिघण्टा १५ सय डलर तोकेको भए पनि त्यसभन्दा सस्तो नै पर्ने गरी सेवा दिइएको छ।