बुधबार राष्ट्रपतिले रानीपोखरीको उद्घाटन गर्दै
पुनःनिर्मित रानीपोखरीको उद्घाटन बुधबार हुने भएको छ। बुधबार दिउँसो १२ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको उद्घाटन गर्ने शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताए।
२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन्। त्यसैले मन्दिरको उद्घाटन पनि राष्ट्रपति भण्डारीबाट नै गर्न लागिएको मन्त्री श्रेष्ठले बताए।
रानीपोखरीलाई जस्ताको तस्तै पुनर्निर्माण गरेर उद्घाटन गर्ने अवस्थामा आइपुग्नुले वर्तमान सरकार पुनर्निर्माणप्रति कत्तिको चिन्तित छ भन्ने पुष्टि मन्त्री श्रेष्ठले दाबी गरे।
यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरूको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ।
१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो। तर, फेरि रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो।
शिलान्यास भएको करीब ५ वर्षपछि मात्र रानीपोखरी पुनर्निर्माणको काम सकिएको छ।