कांग्रेस नेताहरू भन्छन्- सरकार गैह्रजिम्मेवार भयो
कोभिड-१९ संक्रमणको उपचार नागरिकले आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुपर्ने कांग्रेस नेताहरूले माग गरेका छन्।
कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधानविपरीत भएको टिप्पणी गर्दै संविधानले ज्ञारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको बताए।
कोभिड-१९ संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडी हटेर आफ्नो उपचार आफैं गर्न भन्नु गैह्रजिम्मेवारपूर्ण कदम भएको उनले बताए।
सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जीउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैह्रजिममेवार रूपमा प्रस्तुत भएको उनको भनाइ छ।यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउन समेत नेता सिंहको माग छ।
यस्तै, कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले संविधानले दिएको आधारभूत स्वास्थ्यको अधिकार विपरीत सरकारले निर्णय गरेको बताए। जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक रहेको उनको टिप्पणी छ।
अब कांग्रेसले दशैंपछि शुरू हुने संसदको अधिवेशन र सडकमार्फत् विरोधका कार्यक्रम अघि बढाउने महतले बताए। सरकारमा बस्नेहरूले राज्यकोषलाई आफूखुशी खर्च गर्न हुने तर, जनताको आधारभूत आवश्यकता पूर्ति गर्नतर्फ साधनस्रोत भएन भनेर पन्छिनु गैह्रजिम्मेवारपूर्ण कदम भएको नेता महतले बताए।