सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउने, १५ मंसिरमा एकैसाथ शिलान्यास
सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने भएको छ। अस्पतालका भवनको शिलान्यास आउँदो १५ मंसिरमा एकैसाथ हुनेछ।
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि सबै स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको आधारभूत अस्पताल स्थापना गर्ने नीति अनुरूप अर्थमन्त्राल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एकैपटक भवन शिलान्यास गर्ने सहमति भएको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा दुवै मन्त्रालयका अधिकारीबीच भएको बैठकमा अस्पताल निर्माणको सहमति भएको अर्थमन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले बताए।
सरकारले मुलुकभर एकैपटक ३७६ स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी निर्माण गर्ने महत्वाकांक्षी योजना अगाडि सारेको छ। एकीकृत योजना अन्तर्गत प्रादेशीक र संघीय अस्पतालहरू समेत रहेका छन्। मन्त्रालयले १ हजार २०० थान भेन्टिलेटर, ३ हजार ५०० थान हाई डिफेडेन्सी यूनिट र ३ हजार थान आईसीयूको प्रबन्ध गर्न बजेटको व्यवस्था गर्ने भएको छ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयू, एचडीयू, भेन्टिलेटर लगायतका उपकरण तत्काल खरिद गर्नेगरी तयार भएको कार्ययोजना बमोजिमको खरिद प्रक्रिया स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि बढाउने र त्यसका लागि आर्थिक स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने सहमति पनि भएको छ।
कोभिड खोप सेवाको आपूर्ति सुनिश्चित गर्न आवश्यक कूटनीतिक र अन्य पहल अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा अगाडि बढाउने भएको छ। यसबाहेक स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को विरुद्ध विकास हुने खोप लगायतका आपतकालीन औषधिको प्रयोगलाई व्यवस्थित गर्न मौजुदा औषधि ऐनमा संशोधन गर्ने प्रकृया अगाडि बढाउनेसमेत दुई मन्त्रालयबीच सहमति भएको छ।