लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा जग्गा कारोबार गर्न निषेध
राप्ती गाउँपालिकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र देउखुरीमा भइरहेको वा हुन सक्ने गैरकानूनी जग्गा कारोबार बन्द गर्न आग्रह गरेको छ। गाउँपालिकाले सोमबार सूचना प्रकाशन गर्दै कारोबार बन्द नभए कठोर कदम चाल्ने चेतावनी समेत दिएको छ।
गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको क्षेत्रमा राप्ती गाउँपालिकाको क्षेत्र समेत पर्ने भएकाले सो भूभागभित्र जग्गाको किनबेच हाल रोक्का गरिएको जानकारी दिए। कुनै पनि व्यक्तिलाई जग्गा गैरकानूनी किनबेच नगर्न तथा नगराउन आग्रह गरेका छन्।
प्रदेश सभाले गएको २० असोजमा राप्ती उपत्यका (देउखुरी) लाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो।
गाउँपालिकाले आफ्नो भूउपयोग नीति तयार गरेकाले सबै क्षेत्रमा घर-घडेरीका रुपमा जग्गा विकास गर्न नमिल्ने पनि जानकारी गराएको छ। प्रदेश सरकारबाट राजधानीको पूर्वाधार तयार पार्ने सम्बन्धमा जग्गाको लगत संकलन भइरहेको छ। लगतका आधारमा गुरुयोजना तयार गरिसकेपछि मात्र जग्गा किनबेच तथा अन्य कार्य हुने सम्भावना भएकाले हाल जग्गाको कुनै पनि कारोबार गर्न निषेध गरिएको छ।
गाउँपालिकाका अध्यक्ष सुवेदीले प्रदेश तथा स्थानीय सरकारले जग्गा रोक्का राखेका अवस्थामा गैरकानूनी कागजात/तमसुक गरी गरिएका खरीद-बिक्री मान्य नहुने र कागजात पनि जफत हुने बताए।