कैलालीमा प्रहरीको हत्या: बेपत्ता प्रहरी जवान साउदको पनि भेटियो शव
कैलालीमा गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक (असई) मृत भेटिएको दुई दिनपछि उनीसँगै खटिएका बेपत्ता प्रहरी जवानको पनि शव भेटिएको छ।
धनगढी उपमहानगरपालिका–१२ स्थित अस्थायी प्रहरी पोष्ट जुगेडाका इञ्चार्ज असई गोविन्द विक १ असारको साँझ प्रहरी जवान रामबहादुर साउदलाई मोटरसाइकलमा राखेर गस्तीमा निस्किएका थिए।
असई विकको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा आइतबार बिहान नेपाल–भारत सीमास्थित मोहना नदीमा शव भेटिएको थियो। प्रहरी जवान साउद भने सम्पर्कविहीन थिए। सशस्त्र प्रहरीको गोताखोर टोलीले मोहना नदीमै खोजी गर्दा साउदको शव असई विकको शव भेटिएको ठाउँ भन्दा झण्डै दुई सय मिटर माथि नदीमै भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ। प्रहरीका अनुसार, संलग्नमध्ये केही अझै फरार रहेकाले खोजी तीव्र पारिएको छ। असई विक र प्रहरी जवान साउदको तस्करहरुले सामूहिक आक्रमण गरेर हत्या गरेको आशंका गरिएको छ।
अस्थायी प्रहरी पोष्ट रहेको जुगेडा भारतसँगको सीमावर्ती क्षेत्र हो। उक्त क्षेत्रबाट तस्करी हुने गरेको थियो। तस्कर विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका असई विकको टोलीले केही दिन अघि मात्र तस्करी गरेर ल्याइएका सामान बरामद गरेको थियो। त्यसपछि तस्करहरूले प्रहरीलाई निशाना बनाएको हुनसक्ने आशंका गरिएको छ।
असई विकको सम्मानका साथ अन्त्येष्टि
हत्या गरिएका प्रहरी सहायक निरीक्षक गोविन्द विकको उच्च सम्मानका साथ कञ्चनपुरस्थित दोदा नदीमा सोमबार अन्त्येष्टि गरिएको छ। विकको शवलाई प्रहरीको झण्डा ओढाएर अन्तिम सलामी दिइएको थियो।
अन्त्येष्टिका क्रममा सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, डीआईजी उत्तमराज सुवेदी, वरिष्ठ प्रहरी अधिकृत र मृतक विकका आफन्तजन तथा स्थानीयहरुको सहभागिता थियो।