टाउको जोडिएका पाकिस्तानी जुम्ल्याहाः छुट्टिदा एक जनाले मात्र पाइन् सग्लो जीवन
टाउको जोडिएका जुम्ल्याहा बालिका लण्डनमा शल्यक्रिया गरेर छुट्याइएको एक वर्षपछि आफ्नो घर पाकिस्तान फर्किएका छन्। उनीहरुमध्ये एक जना भने आजीवन हिँड्न नसक्ने भएकी छिन्।
उनीहरुलाई गत वर्ष नै लण्डनको ग्रेट अर्मोन्ड स्ट्रिट अस्पतालका चिकित्सकले शल्यक्रिया गरी छुट्याएका थिए। साफा र मार्वा बिबीलाई एक–अर्कासँग छुट्याउन तीन वटा जटिल शल्यक्रिया गरिएको थियो। त्यसक्रममा उनीहरुले ५० घन्टा अप्रेसन थिएटरमा बिताउनु परेको थियो।
शल्यक्रियाको नेतृत्व गरेका चिकित्सक ओवसी जिलानीले परिणामप्रति अझै पूर्ण ढुक्क हुन नसकिरहेको बताएका छन्। उनले भनेका छन्, “मार्वाको प्रगति राम्रो भइरहेको छ। तर, साफाको बारेमा म आफैँ पनि ढुक्क हुन सकेको छैन।”
उनका अनुसार शल्यक्रियाका क्रममा दुवैको दिमागमा रगत दिने महत्वपूर्ण नशा एउटै भएको पाइएको थियो। एक जनाले मात्र यी महत्वपूर्ण नशा पाउन सक्थे। मार्वा कमजोर भएकाले उनैलाई ती नशा दिइएको थियो।
त्यसको परिणामस्वरुप साफालाई मस्तिष्कघात भयो। उनको दिमाग स्थायी रुपमा नै बिग्रिएको छ र अब उनी कहिल्यै हिँड्न सक्ने छैनन्। जिलानीले भनेका छन्, “एउटा सर्जनको रुपमा मैले त्यो निर्णय गरेको हुँ। त्यो तत्काल गर्नैपर्ने निर्णय थियो जुन हाम्रो समूहले ग¥यो।”
उनीहरुकी आमा जनाबी बिबीले उनीहरुलाई परिवारका अन्य सदस्यको साथमा लैजान पाउँदा खुसी भएको बताएको बीबीसीले उल्लेख गरेको छ। “उनीहरुलाई धेरै राम्रो छ। मार्वाले राम्रो प्रगति गरेकी छिन् र उनलाई एकदम थोरै मात्र सहयोग चाहिन्छ”, उनले भनेकी छिन्। मार्वाले हिँड्न पनि शुरु गरिसकेको आमा जनाबीले बताइन्। आफूहरुले साफालाई भने विशेष हेरचाह गर्नुपर्ने उनको भनाइ छ।
यसरी टाउको जोडिएर हुने जुम्ल्याहाको जन्म दुर्लभ हो। यस्ता बच्चा शिशुकालपछि बाँच्न सक्दैनन्। यी दुईको हेरचाहका लागि अर्मोन्ड अस्पतालमा १०० जनाको टीम खटिएको थियो।
यी जुम्ल्याहाको टाउको फेब्रुअरी २०१९ मा छुट्याइएको थियो। त्यही समयदेखि नै उनीहरु आमा र काकासँग लण्डनमा नै थिए। उनीहरुको शल्यक्रिया र हेरचाहका लागि १० लाख पाउण्ड खर्च भएको थियो। सम्पूर्ण खर्च पाकिस्तानी व्यवसायी मुर्ताजा लखानीले व्यवहारेका छन्।
ती बालिका अहिले साढे तीन वर्षका भएका छन्। उनीहरुलाई हिँडडुल गर्न र चलायमान भइरहन नियमित थेरापी गर्नुपर्छ। उनीहरुका लागि सिकाइ र अभ्यास कठिन भएको बताइएको छ।
उनीहरुकी आमाले शल्यक्रियामा सहभागी टीमलाई ‘हिरोहरु’ को रुपमा सम्मान गरेको जनाएकी छिन्। उनका यसअघिका सात सन्तान पाकिस्तानमा साफा र मार्वाको हेरचाह र भेटघाटका लागि उत्साही भएको पनि उनले बताएकी छिन्।