चाडबाडमा कोरोनाको जोखिम बढ्ने भन्दै सिडिओ र प्रहरी प्रमुखलाई जिल्ला नछाड्न निर्देशन
गृह मन्त्रालयले चाडबाडको समयमा कोरोनाभाइरस सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्लाका प्रहरी प्रमुखलाई जिल्ला नछाड्न पनि गृहले निर्देशन दिएको छ।
बडादशैँ, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वमा मानिसको आवतजावत बढ्न जाँदा सङ्क्रमण थप बढ्न सक्ने जोखिम भएको गृह मन्त्रालयले उल्लेख गरेको छ। त्यहीकारण जोखिम थप बढ्न नदिन दशैँ बिदाको अवधिमा पनि सीडीओ तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।
जोखिम नियन्त्रणका लागि समन्वयात्मकरूपमा हरसम्भव उपायहरू अवलम्बन गर्न र गराउन मातहत सबै सुरक्षा निकाय तथा सिडिओलाई निर्देशन दिइसकिएको बुढाले जानकारी दिए। कोरोना सङ्क्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य मापदण्डअनुरूप दूरी कायम गर्ने, भीडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमितरूपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता क्रियाकलापलाई नै भरपर्दो उपाय मानिएको मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अतिआवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला, जमघट तथा भोजभतेर नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। यस वर्षको चाड जो जहाँ छौँ त्यहीँ बसी मनाउन र स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्न र गराउनसमेत अनुरोध गरिएको छ।