१५ दिनभित्र ४०० आईसीयू बेड थप्ने सरकारको निर्णय
सरकारले १५ दिनभित्र देशभर ४०० आईसीयू बेड थप्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा २०० र उपत्यकाबाहिर २०० उच्च प्रविधिसहितको सघन उपचार कक्ष विस्तार गर्ने निर्णय गरेको हो।
२६ र २९ असोजको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यसबाहेक काठमाडौं उपत्यकामा रहेका क्वारेन्टिन सेन्टरहरूलाई आइसोलेसन सेन्टरको रूपमा विस्तार गर्ने निर्णय भएको समेत बताए।
उनले सरकार जनताको जीवन र स्वास्थ्यप्रति गम्भीर रहेको पनि दाबी गरे। मन्त्री गुरुङले अफवाहमा नलाग्न आग्रह गर्दै राज्यले सबै नागरिकको स्वास्थ्य उपचारको व्यवस्थापन र प्रबन्ध मिलाएको बताए।
स्वास्थ्य संरचनाको विस्तार, परीक्षणको दायरा फराकिलो बनाउन र उपचारको सुविधा उपलब्ध गराउनुले सरकार गम्भीर भएको पुष्टि हुने उनको दाबी छ।
आर्थिक रूपमा विपन्न वर्ग, असाहय, अशक्त, एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र विशेष रूपमा रहेका वर्गको निम्ति सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको पनि मन्त्री गुरुङले बताए।
संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरिएको आदेशको पूर्ण पालना गर्न समेत मन्त्रिपरिषद् बैठकले अपील गरेको मन्त्री गुरुङले बताए।