कृषि विकास ब्यांंकको सहकार्य खल्तीसँग
डिजिटल भुक्तानीका लागि कृषि विकास ब्यांकले खल्ती डिजटलसँग सहकार्य गरेको छ। मोबाइल वालेट खल्तीमा पैसा राख्न र खल्तीबाट ब्यांकमा पठाउन सकिने गरी यस्तो सहकार्य भएको हो।
कृषि विकास ब्यांकले इन्टरनेट र मोबाइल ब्यांकिङ सेवा प्रयोग गर्ने ग्राहकलाई डिजिटल भुक्तानीमा सघाउन खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको जानकारी दिएको छ। कृषि विकास ब्यांकका प्रमुख वित्त अधिकृत यज्ञप्रकाश न्यौपाने र खल्तीका निर्देशक अमित अग्रवालले ब्यांंकको मुख्य कार्यालयमा एक आपसमा सहकार्य गर्ने विषयमा सम्झौता भएको हो।
खल्तीसँगको सम्झौतापछि यो ब्यांकको मोबाइल ब्यांकिङ र इन्टरनेट ब्यांकिङ सेवा प्रयोग गरेर ग्राहकले खल्ती वालेटमा रकम लोड गर्न सक्नेछन्। खल्तीमा लोड गरिएको रकमबाट खल्तीको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तान सेवा उपयोग गर्न सकिने खल्ती डिजिटले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
यस्तो सम्झौताबाट नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्याउने अपेक्षा कृषि विकास ब्यांकको छ। ग्राहकहरूले डिजिटल ब्यांकिङमा अझ धेरै सुविधा पाउने उल्लेख छ।
सम्झौता अनुसार ब्यांकले खल्ती डिजिटल वालेटलाई भर्चुअल मेसिन अपरेटिङ प्रणाली प्रदान गर्नेछ। यसको माध्यमबाट ग्राहकहरूले अनलाइन र अफलाइनबाट खल्तीमा रकम लोड गर्न सक्नेछन्। कृषि ब्यांकका ग्राहकले ई-ब्यांकिङ, मोबाइल ब्यांकिङ, ब्यांक स्मार्ट, ब्यांकिङ चेकआउट जस्ता विभिन्न माध्यमहरूमार्फत् खल्टीमा रकम लोड गर्न सकिने छ।
खल्ती सन् २०१७ जनवरीमा शुरू भएको नेपालको मोबाइल भुक्तानी सेवा प्रदायक हो। यसबाट विभिन्न बिल भुक्तानी सेवाहरू, मोबाइल रिचार्ज, डीटीएच रिचार्ज, आन्तरिक हवाइ उडानको टिकट बुकिङ, चलचित्र टिकट बुकिङ, विभिन्न कार्यक्रमको टिकट बुकिङ, होटल बुकिङको सुविधा लिन सकिन्छ।
अखबारको ग्राहक शुल्क तिर्ने लगायतका विभिन्न डिजिटल भुक्तान सेवाहरूका साथै विभिन्न अनलाइन साइटहरूबाट किनमेल गरेको बिल पनि तिर्न सकिने कम्पनीले जनाएको छ।