कर्जाको माग अझै सुस्त, सबैभन्दा धेरै ऋण लगानी गर्ने ग्लोबल आईएमई ब्यांक
साउनयता असोज मसान्तसम्ममा वाणिज्य ब्यांकहरूमा रू. १ खर्ब ६४ अर्ब निक्षेप थपियो। यो बीचमा ब्यांकको कर्जा प्रवाह भने रू. १ खर्ब २९ अर्ब मात्र भएको छ। आर्थिक क्रियाकलाप सुस्त भएका कारण कर्जाको माग पर्याप्त नबढेको यसले देखाउँछ।
नेपाल ब्यांकर्स एशोसिएसनका अनुसार, असोज मसान्तसम्ममा वाणिज्य ब्यांकहरूमा निक्षेप रू. ३६ खर्ब ५४ अर्ब पुगेको छ। जबकि, ऋण प्रवाह भने ३० खर्ब ३५ अर्ब मात्रै छ। वाणिज्य ब्यांकहरूले अझै रू. २ खर्बभन्दा बढी ऋण प्रवाह गर्न सक्छन्, तर ऋण काढेर व्यवसाय गर्ने इच्छुकको संख्या खुम्चिएका कारण ब्यांकमा धन थुप्रिएर बसेको हो।
ब्यांकको रकम लगानी हुन नसक्दा देशको अर्थतन्त्र र ब्यांक दुवैलाई नोक्सान हुन्छ। ऋण लगानी बढेमा आर्थिक क्रियाकलाप बढेर नयाँ रोजगारी सिर्जना हुने, उत्पादन बढ्ने अपेक्षा गरिन्छ। ऋण लगानी बढ्दा ब्यांक तथा वित्तीय संस्थाको नाफा पनि बढ्छ, जसको फाइदा लगानीकर्ताले उठाउँछन्। निक्षेप थपिइरहने तर लगानी बढ्न नसक्दा ब्यांक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई ब्याज तिरिरहनु पर्छ भने आफूसँग भएको तरल सम्पत्ति बिना उपयोग बस्छ। यसले ब्यांकलाई अप्ठ्यारोमा पार्छ।
पछिल्ला वर्षहरूमा नेपालका ब्यांक तथा वित्तीय संस्था लगानीयोग्य रकमको अभावको चापमा पर्दै आएका थिए। बजारमा कर्जा माग धेरै तर निक्षेप कम हुँदा उनीहरूले चाहेअनुसार लगानी गर्न पाएका थिएनन्। तर, कोरोना भाइरसका कारण अर्थतन्त्र सुस्त भएपछि अहिले ऋणको खोजी गर्नेको संख्या ह्वात्तै घटेको छ।
वाणिज्य ब्यांकहरूमध्ये सबैभन्दा धेरै निक्षेप एनआईसी एशियामा छ। यसमा सर्वसाधारण र संस्थागत बचतकर्ताले रू. २ खर्ब ४६ अर्ब जम्मा गरेका छन्। त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य ब्यांकमा रू. २ खर्ब ३९ अर्ब र ग्लोबल आईएमई ब्यांकमा रू. २ खर्ब ४१ अर्ब जम्मा छ। ब्यांकहरूमध्ये सबैभन्दा धेरै कर्जा लगानी ग्लोबल आईएमई ब्यांकको छ। यसले रू. २ खर्ब ७ अर्ब ऋण लगानी गरेको छ।
गत असार यता ब्यांकहरूमध्ये सबैभन्दा धेरै एनआईसी एशियाले निक्षेप र कर्जा दुवै बढाएको छ। गत असारका तुलनामा यसको निक्षेप ३५.३६ प्रतिशतले बढेर रू. २ खर्ब ४६ अर्ब पुगेको छ भने कर्जा प्रवाह २९.८६ प्रतिशतले बढेर रू. २ खर्ब ३ अर्ब पुगेको छ।