विद्यालयको पूर्वाधार निर्माणका लागि स्थानीयले दिए ११ रोपनी जग्गा
मुगुको सोरु गाउँपालिका-२ जडेपानी गाउँका ९ जनाले करीब ११ रोपनी जग्गा गाउँकै माध्यमिक विद्यालयलाई निःशुल्क प्रदान गरेका छन्। आफ्नै गाउँमा रहेको जनज्योती माध्यामिक विद्यालयको भौतिक पूर्वाधार बिस्तार र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय बासिन्दाले आफूले भोगचलन गर्दै आएको ११ रोपनी खेतीयोग्य जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।
जडेपानी निवासी नरजंग शाहीले १ हजार ५०० वर्गमीटर, टोपबहादुर शाहीले १ हजार ५०० वर्गमिटर, मेलबहादुर शाही र मञ्जन शाहीले ७००/७०० वर्गमिटर, दलबहादुर मल्लले ३५० वर्गमिटर, मानबहादुर शाहीले १३२ वर्गमिटर, कर्मकला शाहीले ११७ वर्गमिटर, मिमा शाहीले २४२ वर्गमिटर र भरत शाहीले १५७ वर्गमिटर जग्गा दान गरेका हुन्।
आफ्ना छोराछोरीलाई घरआगनमै गुणस्तरीय शिक्षा मिलोस्, बाहिर पढ्न जानु नपरोस् भनेर जग्गा उपलब्ध गराएको उनीहरूले बताएका छन्। “२०३४ सालमा स्थापना भएको विद्यालयमा फराकिलो जग्गा नहुँदा थप भवनहरू निर्माण गर्न समस्या भएको र पुराना भवन जीर्ण बन्दै गएकाले नयाँ निर्माणका लागि विद्यालयको नाममा निःशुल्क जग्गा दिएका हौं”, जग्गादाता मेलबहादुर शाहीले भने।
अब विद्यालयको थप भौतिक संरचना निर्माणमा सहजता हुने र यस शैक्षिक गुणस्तरमा थप सुधार हुने आशा गरिएका जडेपानी गाउँका समाजसेवी नरबीर शाही बताउँछन्। विद्यालयले छात्रवास, खेलमैदान, घेराबारलगायतका समस्या खेप्दै आएको विद्यालयका लेखापाल नरजंग शाहीले बताए। विद्यालयको पूर्वाधार निर्माणका लागि भारतीय राजदूतावास, गैरआवासीय संघ संस्था, गाउँपालिका, वडा तह, गैर सरकारी संस्था, विभिन्न सरकारी कार्यालय लगायतका निकायमा परियोजना प्रस्ताव पेश गरिने प्रधानाध्यापक सुवास रावलले बताए।
हाल यस विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ। विद्यालयमा ७०० भन्दा बढी अध्यायनरत छन। शिक्षकसहित कर्मचारीको संख्या २३ छ। चालु आर्थिक वर्षदेखि सिभिल सवइन्जिनियर समेत पढाइ शुरू गरिएको छ। पालिकाभित्रका फोतु, नेर, लिब्रु, रावलबाडा, नार्थपु, जवलधारा, नाचार, जडेपानी, नार्थपु, सोरुकोट, भिई लगायतका गाउँ छिमेकी जिल्ला हुम्लाको तुम्च, मकै लगायतका गाउँबाट समेत विद्यालयमा विद्यार्थी अध्यन गर्न आउने गरेका छन्।
सिभिल सव न्जिनियर विषय अध्यनका लागि जिल्लाभित्रका र छिमेकी जिल्ला हुम्ला तथा बाजुराबाट समेत विद्यार्थी आउने गरेका छन्।