संकटकालको हल्ला निराधार : गृह मन्त्रालय
गृह मन्त्रालयले देशमा संकटकाल लागू हुने भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेको छ।
मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडेर संकटकाल लाग्ने भन्ने सूचना प्रवाह भएको भन्दै मन्त्रालयले त्यो निराधार रहेको बताएको छ।
प्रवक्ता चक्रबहादुर बुढाले तथ्यहीन, भ्रामक र निराधार हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन्। यस्तो हल्ला फैलाउनेविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढिसकेको प्रवक्ता बुढाले बताए।
“पीएसए भनेर नम्बर नदेखिनेगरी केही सञ्चारकर्मी, प्रहरीका उच्च अधिकारी र कर्मचारीलाई कर्फ्यू लाग्दैछ भन्ने मेसेज गरिएको रहेछ”, गृह मन्त्रालयका प्रवक्ता बुढाले भने, “एनसेलको नम्बरबाट मेसेज आएको पत्ता लागेको छ। कसले यस्तो गरेको हाे भनेर थप अनुसन्धान हुँदैछ।”