थप १८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७५७ पुग्यो
नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता १८ जना संक्रमितको मृत्यु भएको हो।
मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ।
पछिल्लो २४ घण्टायता नेपालमा थप ३७९० जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १३६०३६ जना पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज निको हुनेको संख्या २३३५ जना छ। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९४५०१ जना पुगेको छ।
काठमाडौं उपत्यकामा भने पछिल्लो २४ घण्टायता २३८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र २००८ जना रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा संक्रमण पुष्टि भएको छ।
आजको पीसीआर १५७१४ रहेको छ। मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ४०७७८ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १३८५१ जना र होम आइसोलेसनमा २६९२७ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४४७० जना रहेका छन्।
आईसीयूमा २८२ र भेन्टिलेटरमा ६३ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।