सगरमाथा क्षेत्रमा कोरोना कहरः ६७ वर्षमा पहिलो पटक पर्यटकविहीन !
सन् २०१४ को भीषण हिमपहिरो र २०१५ को भूकम्पमा सगरमाथा चढ्दै गरेका कम्तीमा ३४ जनाको ज्यान गए पनि खुम्बु क्षेत्रमा पर्यटक आवतजावत रोकिएको थिएन। सन् १९५३ मा भएको प्रथम सगरमाथा आरोहण यता पहिलोपटक यो वर्ष खुम्बु क्षेत्र सुनसान छ।
पर्यटक आउने सिजन नाम्चेबजारमा ‘एभरेष्ट ट्रेल’ जानेको दोहोरीलता हुन्छ। हिंड्ने बाटो पाउनै मुस्किल। तर, यसपटक नाम्चेबजार सुनसान छ।
आङमाया शेर्पालाई नाम्चेबजार अहिले जति सुनसान कहिल्यै लागेको थिएन। उनी यही ठाउँमा ३० वर्षदेखि होटल व्यवसायमा संलग्न छिन्। आफ्नै ‘होटल नाम्चे’ चलाएकै २० वर्ष भयो। यो वर्ष पर्यटक आउने सिजनमा उनी होटल मर्मत गर्दै बसिन्।
नाम्चेमा वर्षको दुईपटक पर्यटकको ओइरो लाग्छ। मार्च–अप्रिल (फागुन–वैशाख) र सेप्टेम्बर–नोभेम्बर (भदौ–कात्तिक) मा होटलमा बास पाउन मुस्किल पर्छ। यो मौसममा पर्यटकहरु होटल ‘बुक’ गरेर मात्र आउँछन्।
नाम्चेमा साना ठूला गरी ६० होटल छन्। यहाँका धेरैजसो मानिस होटल व्यवसाय र ट्रेकिङमा संलग्न छन्। पर्यटक नआउँदा उनीहरु सबैको खाने मेलो गुमेको होटल नाम्चेकी संचालक शेर्पा बताउँछिन्।
नाम्चेलाई सगरमाथाको प्रवेशद्वार भनिन्छ। तर, ‘एभरेष्ट ट्रेल’ मा जाने पर्यटकको गन्तव्य भने लुक्लाबाटै शुरु हुन्छ। कोरोनाभाइरस संक्रमणको महामारीको असर लुक्लादेखिकै होटल तथा पर्यटन व्यवसायीमा परेको छ।
हवाइजहाजबाट लुक्ला ओर्लने पर्यटक खुम्जुङ, तेङ्बोचे, गोक्यो ताल, कालापत्थर र सगरमाथा आधार शिविरसम्म पुग्छन्। यी सबै यात्राको पहिलो विन्दु लुक्ला नै हो।
सरकारले बन्दाबन्दी घोषणा गर्नुअघिदेखि नै यो क्षेत्रमा पर्यटक घटेको होटल नाम्चेकी संचालक शेर्पा बताउँछिन्। उनका अनुसार होटल नाम्चे गत मार्च (फागुन दोस्रो हप्ता) देखि नै बुकिङ थियो। मार्च र अप्रिलका ५० भन्दा बढी विदेशी समूहले उक्त होटलका लागि गरेका बुकिङ रद्द भए। सेप्टेम्बरदेखि नोभेम्बरसम्मको सिजनमा त कुनै बुकिङ नै भएन।
होटल बुकिङ गर्ने एउटा समूहमा कम्तीमा ६ जना र बढीमा २० जनासम्म हुन्छन्। शेर्पा भन्छिन्, “एउटा समूह दुईदेखि तीन दिनसम्म बस्छन्। हामी उनीहरुमा नै शतप्रतिशत भर परेका छौँ। यो वर्ष ब्याङ्कको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छौँ।”
नाम्चेभन्दा तल मन्जोबजारकी आशमाया तामाङले ब्याङ्कबाट ऋण लिएर गत वर्ष मात्र होटल खोलेकी थिइन्। २०७६ असोजदेखि सञ्चालन गरेको होटल चैतमा बन्दाबन्दी शुरु नहुँदै बन्द गर्नुपर्याे। त्यसयता उनी खेती गरेर बसेकी छन्। अहिले ब्याङ्कको ब्याज तिर्नसमेत नसकिरहेको उनी बताउँछिन्।
कोरोनाको असर ठूलासाना सबै होटलमा परेको छ। खुम्जुङस्थित संसारकै अग्लो स्थान, ३,८८० मिटर उँचाइमा रहेको होटल एभरेष्ट भ्यूमा प्रत्येक सिजन करीब ५०० पर्यटक पुग्छन्। कप्तीमा तीन दिन बस्छन्। चिया कफी खाँदै सगरमाथाको दृश्यावलोकन गर्न मात्र दैनिक ३०० जनासम्म त्यहाँ पुग्छन्।
नेपालले ११ चैतमा बन्दाबन्दी घोषणा गर्नुअघि नै गएको मार्च–अप्रिलमा उक्त होटलको २०० बुकिङ रद्द भयो। बन्दाबन्दीपछि भने केही समयसम्म फाट्टफुट्ट पर्यटक आए पनि होटलले नै प्रवेश नदिएको लेखापाल कर्मनन्द राई बताउँछन्।
होटल एभरेष्टमा जापानी व्यवसायीको लगानी भएकाले उतैका नागरिक धेरै आउँछन्। कतिपय सगरमाथा आधार शिविर परिक्रमा गर्न आए पनि धेरै जसो तेङबोचे र गोक्योसम्म पुग्छन्। पछिल्लो समय अन्य विदेशीले पनि होटल बुकिङ गर्न थालेका थिए।
उक्त होटलले ‘भिजिट नेपाल २०२०’ मा आउने पर्यटकका लागि ‘अफ सिजन’मा नै खाद्यान्नको जोहो गरेको थियो। जोहो गरिएको अधिकांश खाद्यान्न खेर गएको राई बताउँछन्। उनी भन्छन्, “पिक सिजनमा काठमाडौँबाट प्लेनमा खाद्यान्न ल्याउन पाइँदैन। त्यसैले अफ सिजनमा नै ल्याएर भण्डार गर्नुपर्छ। आलु, मैदा, अण्डा जस्ता खाद्यान्न खेर जाँदा ठूलो घाटा भयो।”
उनका अनुसार भ्रमण वर्षका लागि होटलले खरीद गरेको २०० टिन आलु सबै कुहियो। एक टिनमा १३ किलो हुन्छ। त्यस्तै ३५ बोरा मैदा खेर गयो। ठूलो परिणाममा अण्डा, चीज, चिकेन पनि नाश भएको उनले बताए।
सन् १९७१ मा सञ्चालनमा आएको यो होटल त्यसयता पहिलोपटक पर्यटकविहीन भएको हो। यो सिजन मात्र करीब रु.१ करोड ५० लाख घाटा भएको राईको अनुमान छ।
खुम्जुङभन्दा माथिल्लो क्षेत्रमा भएका होटलले झन् ठूलो घाटा बेहोर्नु परेको लोबुचेस्थित ओटल अक्सिजनका सञ्चालक लक्ष्मण अधिकारी बताउँछन्। उनको होटल ४,९५० मिटरको उँचाइमा छ। लुक्लाबाट चार दिनको पैदलमा मात्र पुगिन्छ।
यहाँसम्म सामान पुर्याउनै महङ्गो भएकाले आर्थिक कारोबार धेरै भए पनि नाफा कम हुने अधिकारी बताउँछन्। तर, पर्यटक नआउँदा घाटाको अनुपात भने ठूलो हुन्छ। उनी भन्छन्, “काठमाडौँमा २० रुपैयाँ पर्ने नुन लुक्ला ल्याउँदा नै १२० रुपैयाँ पर्छ। त्यहाँबाट लोबुचे पुर्याउँदा त प्याकेटकै ३०० पर्छ। एलपी ग्यास १० हजार रुपैयाँ पुग्छ। त्यसैले ग्राहकले बढी पैसा तिरे पनि संचालकको नाफा धेरै हुँदैन। महङ्गो सामान खेर जाँदा घाटा भने धेरै हुन्छ।”
उनले सन् २०१४ मा खोलेको होटलले पहिलो पटक यो वर्षका दुवै सिजन कारोबार गर्न पाएन। पर्यटक भने गत वर्षदेखि नै घट्न थालेको उनी बताउँछन्। गत वर्ष काठमाडौँमा डेङ्गु फैलिएको समाचार आउन थालेपछि त्यसको असर हिमाली पर्यटनमा पनि परेको उनको भनाइ छ।
वर्षाको केही समय पर्यटक नआए पनि लगभग वर्षैभरि नाम्चे क्षेत्रमा घुम्न जानेहरु नटुट्ने उनी बताउँछन्। हिउँदमा हिउँसँग रमाउनेहरु उता पुग्छन्। मनसुनमा सगरमाथा राष्ट्रिय निकुञ्जका जनावर देखिने हुँदा वन्यजन्तु हेर्नेहरुको आवतजावत हुन्छ। तर, सन् १९५३ मा सगरमाथाको प्रथम आरोहण भएयता खुम्बु क्षेत्र पहिलोपटक पर्यटकविहीन भएको अधिकारी बताउँछन्।
हजारौँले गुमाए रोजगारी
लुक्लामा भेटिएका पथप्रदर्शक पासाङ दाबा शेर्पा कोरोना महामारीका कारण होटल मजदूर, पथप्रदर्शक, भरिया र टिकटिङ एजेन्सी लगायतले काम गुमाएको बताउँछन्। सन् २००८ देखि पथप्रदर्शकको काम शुरु गरेका उनी १२ वर्षमा पहिलोपटक यो वर्ष सगरमाथा आधार शिविर गएनन्।
उनले लुक्लामा रहेको बुद्धिष्ट कलाकृतिका सामग्री बेच्ने आफ्नो पसलमै समय बिताए। तर, पर्यटक नहुँदा पसलमा पनि बिक्री छैन। भन्छन्, “म हरेक वर्ष दुई सिजन गरी कम्तीमा २० पटक नाम्चेमाथिको क्षेत्र पुग्छु। तर, यो वर्ष यती एअरलाइन्सले आन्तरिक पर्यटकका लागि भ्रमणको प्याकेज ल्याएपछि एक पटक मात्र नाम्चे पुगेँ।”
उता खुम्जुङका कामी छिरिङ शेर्पाले तीन पटक सगरमाथा आरोहण गरिसकेका छन्। उनी मनसुनमा होटलमा काम गर्न अष्ट्रिया जान्छन्। पर्यटक आउने सिजन नेपाल फर्किन्छन्। तर, यो वर्ष न अष्ट्रिया गए, न त पर्यटक लिएर सगरमाथा आधार शिविर नै।
बरु खुम्जुङमा नै खेती गरेर बसे। त्यहाँ फापर र आलु खेती हुन्छ। खुम्जुङका करीब १८० घरपरिवारमध्ये ५० परिवारले होटल र ट्रेकिङ व्यवसाय गर्छन्। ती सबै बेरोजगार भएको कामी छिरिङ बताउँछन्।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अनुसार खुम्बु क्षेत्रमा गत वर्ष करीब ४० हजार पर्यटक आएका थिए। प्रत्येक १० जना पर्यटक बराबर कम्तीमा एक पथप्रदर्शक र दुई जना भरिया हुन्छन्। यसअनुसार कम्तीमा १२ हजारले रोजगारी गुमाएको वडा नम्बर ५ का वडाध्यक्ष पनि रहेका लोबुचेको होटल अक्सिजनका संचालक लक्ष्मण अधिकारी बताउँछन्।
त्यसैगरी होटल क्षेत्रमा ठूलो संख्यामा रहेका मजदूरले पनि रोजगारी गुमाएका छन्। वडाध्यक्ष अधिकारीका अनुसार यो गाउँपालिकामा साना ठूला गरी ४२० होटल छन्। ती होटल प्रत्येकमा एक जना कुक र दुई जना उसका सहयोगी हुन्छन्। तीबाहेक वेटर लगायत कम्तीमा अरु चार जना कर्मचारी छन्। ती सबै गरी कम्तीमा तीन हजार जनाको रोजगारी धरापमा परेको अधिकारीको भनाइ छ।
यहाँका होटलमा प्रायः गाउँपालिका भन्दा बाहिरका श्रमिक छन्। अधिकांश धादिङ, नगरकोट, नुवाकोट र सोलुखुम्बुकै तल्लो भाग, महाकुलुङ, सेताङलगायत गाउँपालिकाका छन्। केही होटलले भने थोरै प्रतिशत तलब उपलब्ध गराइरहेको जनाएका छन्।
पर्यटक नहुँदा घोडा व्यवसायीहरु पनि बेरोजगार भएका छन्। लुक्लाबाट एभरेष्ट ट्रेलमा जाने विदेशी पर्यटक घोडा चढेरै पनि त्यता पुग्ने मन गर्छन्। उनीहरुसँग एक दिनको १५० डलरसम्म लिने गरेको लाक्पा तामाङ बताउँछन्। तर, उनले यसपटक विदेशीलाई लिएर सगरमाथा आधार शिविर जान पाएनन्।
उनी यो सिजन एक पटक मात्र गोक्यो तालसम्म पुगे। “घोडा चलाएको दुई वर्षमा पहिलोपटक नेपाली चढाएँ। त्यो पनि दिनको ५ हजार रुपैयाँ मात्र लिएर। घरै बसेर पनि काम छैन भनेर गएको हुँ”, उनी भन्छन्।
पर्यटक नहुँदा घोडा पाल्नै समस्या हुन थालेको उनले बताए। घोडाको आहाराका लागि दिनमा रु.१ हजार खर्च गर्नुपर्छ। उपचार र अन्य सामग्री खरीदमा खर्च हुनाले आम्दानी नहुँदा समस्या हुने उनी बताउँछन्।
नेपाली पर्यटकलाई मौका !
होटल नाम्चे खुलेको २० वर्षपछि पहिलोपटक सेप्टेम्बर–नोभेम्बर सिजनमा नेपाली मात्रले बास पाए। “सिजनमा त हामी नेपाली देख्दै देख्दैनौँ। विदेशमै बस्ने एक वा दुई प्रतिशत नेपाली मात्र आउँछन्”, होटल संचालक आङमाया शेर्पा भन्छिन्, “यो वर्ष नेपालीका लागि यता आउने मौका भयो।”
विदेशी पर्यटक नआएपछि उक्त क्षेत्रको पर्यटन चलायमान बनाउन यती एअरलाइन्स र समिट एअरले गएको १५ असोजदेखि सहुलियत प्याकेजमा नेपाली पर्यटक त्यता लगिरहेका छन्। खुम्जुङदेखि गोक्यो र सगरमाथा आधार शिविर जान फरक फरक प्याकेज राखिएको छ। त्यसका लागि पीसीआर जाँच भने अनिवार्य गरेको हुनुपर्छ।
पथप्रदर्शक पासाङ दावा शेर्पाले पनि १२ वर्षमा पहिलो पटक नेपाली पर्यटक घुमाए। उनका अनुसार बास बस्न र खान अत्यन्त महङ्गो पर्ने हुँदा विदेशी पर्यटक आउने सिजन खुम्बु क्षेत्रमा नेपाली पर्यटक आउँदैनन्। उनी भन्छन्, “बढी पैसा पाउने लोभमा यहाँका होटल व्यवसायीले विदेशीलाई मात्र बास दिन्छन्। नेपालीसँग कुरा गर्न पनि गाह्रो मान्छन्।”
उनले भने जस्तै नाम्चेका होटलमा कोठाको मूल्य डलरमा उल्लेख छ। त्यहाँ २५ डलरदेखि १०० डलरसम्म पर्ने कोठा छन्। अहिले प्याकेजमा त्यता घुम्न जाने नेपालीलाई २५ डलर पर्ने कोठा दिने गरिएको छ।
होटल नाम्चे सञ्चालक शेर्पा भने विदेशी पर्यटकको सिजनमा एअरलाइन्सले नै नेपालीलाई टिकट नदिने बताउँछिन्। उनी भन्छिन्, “हामीलाई जो आएर बसे पनि पैसा लिएरै सेवा दिने हो, एअरलाइन्सले नै नेपालीलाई टिकट नदिने हुँदा आउन पाउँदैनन्। स्थानीयले समेत टिकट नपाउँदा चार पाँच जना मिलेर हेलिकप्टर चार्टर्ड गरेर काठमाडौँ जाने आउने गर्नुपर्छ।”
यसपटकको कथा भने बेग्लै रह्यो। एअरलाइन्सहरु नेपालीलाई लैजान प्याकेज बनाइरहेका छन्। त्यसअघि चैत यता ६ महीना लुक्ला विमानस्थल सुनसान भयो। ५ असोजमा आन्तरिक उडान खुलेपछि बल्ल फाट्टफुट्ट हवाइजहाज आउन थाले।
गएको ८ असोजमा बहराइनका राजपरिवारका सदस्यसहितको १८ जनाको टोली लुक्ला पुग्यो। उनीहरुले १७ असोजमा ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरे। यो सिजन पहिलो विदेशी पर्यटकको रुपमा यो समूह खुम्बु क्षेत्र पुगेको थियो।
त्यति मात्र नभइ उनीहरुको आरोहण यो सिजनको पहिलो र सम्भवतः अन्तिम पनि हो। उनीहरुबाहेक अरु दुई जर्मन नागरिक पनि खुम्बु क्षेत्र पुगे। आन्तरिक उडान खुला भएपछि पीसीआर जाँच गरेर काठमाडौँमा बस्ने कूटनीतिज्ञहरु पनि फाट्टफुट्ट खुम्बु क्षेत्र पुग्न थालेको वडा नम्बर ४ का अध्यक्ष अधिकारी बताउँछन्।
तर, अहिले पर्यटकलाई भन्दा पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिनुपर्ने उनको भनाइ छ। “काठमाडौँमा संक्रमित बढ्दैछन्। एक जना मात्र पनि यो क्षेत्र पसे भने त्यसको असर दीर्घकालीन हुनसक्छ। त्यसैले अहिले स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिनुपर्छ”, उनी भन्छन्।
सहज यातायात र अस्पताल नभएको हुनाले यो क्षेत्रमा कोरोनाभाइरस भित्रिए जनजीवन नै तहसनहस हुने उनको भनाइ छ। “बाँचेदेखि पर्यटन व्यवसाय त फेरि गरौँला, अहिले हाम्रो ध्यान सुरक्षित रहने र खाद्यान्न अभाव हुन नदिनेमा नै केन्द्रित छ। त्यसैले यहाँ आउने नेपालीलाई पनि पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेका छौँ”, उनले भने।