नेकपाका सांसदले दशैं भत्ता नलिने, कोरोना कोषमा जम्मा गर्ने निर्णय
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सबै सांसदले दशैं भत्ताबापतको रकम नलिने भएका छन्।
नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतसँग छलफल गरे दशैं भत्ता नलिने निर्णय गरेको संसदीय दलका उपनेता सुवास नेम्वाङले हिमालखबरलाई बताए।
“साविकभन्दा निकै सामान्य र साधारण रूपमा परिवारका सदस्यसँग मात्र बसेर दशैं मनाउने, अरुलाई पनि यही अनुरोध गर्ने र दशैंबापत हामीलाई (सांसदलाई) प्राप्त हुने रकम नलिने निर्णय भएको छ”, नेम्वाङले भने।
उनले यो रकम सरकारको बनाएको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरिने बताए। अहिले कोरोनाविरुद्धको लडाईं नै पहिलो प्राथमिकता रहेकाले दशैं भत्ता नलिने निर्णय भएको दलका उपनेता नेम्वाङले बताए।
प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा ४६ गरि संघीय संसदमा नेकपाका २२० जना सांसद छन्।