कोरोना संक्रमणको परवाह नगरी थापाथलीमा खसीबोका किन्नेको भीड
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोकाको बिक्री शुरू गरेसँगै खरीद गर्नेहरूको भीड लागेको छ। कम्पनीले सोमबारदेखि सहुलियत दरमा खसीबोकाको बिक्री शुरू गरेको हो।
कम्पनीको थापाथलीस्थित् प्रादेशिक कार्यालय परिसरबाट दशैंका लागि खसीबोका बिक्री, वितरण शुरू भएको छ। कम्पनीले जिउँदो खसीबोकाको प्रतिकेजी रू. ५६० मूल्य निर्धारण गरी त्यसमा १० रूपैयाँ सहुलियत दिई ५५० रूपैयाँमा बिक्री गरिरहेको छ।
बजारमा प्रतिकेजी ६०० देखि ६५० रूपैयाँसम्म पर्ने खसीबोका ५५० रूपैयाँमै पाउने भएपछि उपभोक्ताहरूको भीड लागेको छ। खसीबोका किन्न कोभिड संक्रमणको परवाह नगरी सयौंको संख्यामा उपभोक्ताहरू थापाथली पुगेका छन्।
कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्ष दशैंमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ। यसपटक कोभिड-१९ संक्रमणको जोखिमका कारण विगतमा भन्दा कम संख्यामा खसीबोका बिक्री गर्न लागिएको पनि कम्पनीले बताएको छ।
यसवर्ष २ हजारको संख्यामा खसीबोका र १ हजार च्याङ्ग्रा ल्याई बिक्री गर्ने योजना बनाएपनि कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक हजार खसीबोका मात्रै बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ। यसपटक च्याङ्ग्रा भने बिक्रीमा राखेको छैन।