अमेरिकाको राजदूतमा सिफारिस खतिवडाविरुद्ध संसदीय समितिमा तीनवटा उजुरी
सरकारले अमेरिकाका लागि राजदूतमा सिफारिस गरेका पूर्वअर्थमन्त्री युवराज खतिवडाविरुद्ध संसदीय सुनुवाइ समितिमा तीनवटा उजुरी परेका छन्। यस्तै, बेलायतका लागि राजदूत सिफारिस गरिएका पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी परेको छ।
समितिले प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरी सोमबार खोलेको हो। उजुरी खोलिएसँगै समिति सभापति लक्ष्मणलाल कर्णले गम्भीर प्रकृतिका चारवटा उजुरी परेको बताए।
समितिले २१ असोजमा १० दिनको समय दिएर सार्वजनिक उजुरी आव्हान गरेको थियो। सभापति कर्णले प्रस्तावित राजदूतहरूविरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर, सम्पर्क नम्बर उल्लेख नभएकाले १७ कात्तिकका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताए।
१५ असोजको मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूतसँगै पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वाटेमालका लागि गैह्रआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
सोही बैठकले पूर्वमुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड तथा गणतन्त्र माल्टाका लागि गैह्रआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्बाब्वे, ज्ञावेन लगायतका देशका लागि गैह्रआवासीय राजदूत नियुक्त गर्न सिफरिस गरेको थियो।
सरकारले गरेको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ।