नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निसान लिफ’ आउँदै
निसान मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले निसानको सर्वाधिक प्रतीक्षित ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ।
विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिएपश्चात् सो गाडीको लन्च कार्यक्रम पूर्वनिर्धारित समयमा हुन सकेको थिएन। तर, सरकारले विद्युतीय सवारीको करलाई पुनरावलोकन गर्ने व्यवस्था गरेकाले निसानको ‘लिफ’ गाडी आउँदो अप्रिलमा लन्च हुने कम्पनीले जनाएको छ।
निसान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो। यो गाडी विद्युतीय गाडी बजारमा ग्लोबल लिडर पनि बन्न पुगेको कम्पनीको दाबी छ।
निसान लिफ निसानको विदुतीय गाडीहरूमा सबै भन्दा उन्नत कार हो। निसान लिफ संसारभर २,५०,००० भन्दा बढी बिक्री भइसकेको छ। पहिलो निसान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो।
उन्नत फिचर र उत्कृष्ट लुक भएको निसान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारीको रूपमा परिचित रहेको बताइन्छ। अधिक हर्शपावार र टर्कसहित आउने गाडीमा उन्नत प्रविधि र फिचरहरू छन।
४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक इ-पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ। इ-पेडलमा एक्सलेरेटर पेडल छोड्नासाथ गाडीको गति आफैं कम हुँदै जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिने कम्पनीको भनाइ छ।