दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरु अलपत्र
बाढी र पहिरोको कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।
दुई दिनदेखिको असिनापानीले दैलेखको दुल्लु र कालिकोटको दहीखोलामा सडक अवरुद्ध भएको हो ।
पहिरो हटाउन नसक्दा काठमाडौं, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई दिनदेखि अलपत्र परेका छन् ।
दहीखोलामा ठूलो पहिरो गएकोले सानो जेसिबीले पहिलो हटाउन नसकेको जिल्ला प्रशासन कालिकोटले जानकारी दिएको छ ।
पानी परिरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको प्रजिअ चन्द्रबहादुर कार्कीले जानकारी दिए ।
“बाटो खुलाउन हामी निरन्तर लागिरहेका छौँ”, उनले भने, ।
पहिरो गएको ठाउँमा कुनै पनि घर पसल नहुँदा यात्रुलाई खानेपानी र खाजा नास्ता पाउन गाह्रो छ । अलपत्र परेपछि पैदल हिँडेरै पहिरोमा जोखिमपूर्ण यात्रा गर्नुपरेको यात्रु हरिलाल शाहीले बताए ।
सडक डिभिजन कार्यालय जुम्लाले किट्टुभीर, पादुका खोलाको पहिरो पन्छाएर गगनेखोला पहिरो पन्छाउन डोजरको प्रयोग भइरहेको जनाएको छ ।
अवरुद्ध राजमार्ग खुलाउन आइतबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक डिभिजन कार्यालय जुम्ला लागिरहेको जिल्ला प्रशासन कालीकोटले जनाएको छ ।