दशैं भत्ता फिर्ता गर्न कांग्रेसका सांसदलाई देउवाको निर्देशन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।
कांग्रेस सङ्घीय संसदीय दलका नेता समेत रहेका सभापति देउवाले सांसदहरुको दशैं खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्न सोमबार निर्देशन दिएका हुन्।
कांग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिएको निर्देशन बमोजिम आजै सबैलाई पत्राचार गरिने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए।
प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहिलो दायित्व र कर्तव्य सरकारको भएको समेत बताए। महामारीको बेला कोरोना सङ्क्रमितलाई अस्पताल नआउनू र परीक्षण तथा उपचार पनि आफ्नै खर्चमा गर्नू भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको बताउँदै उनले उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।