झापामा कोजाग्रतसम्म रात्रिकालीन निषेधाज्ञा, दशैँमा भेला हुन र तिहारमा देउसी खेल्न नपाइने
जिल्ला प्रशासन कार्यालय झापाले हिजोदेखि १४ कात्तिकसम्म राति हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ। दशैँमा भेला हुन, शक्तिपीठहरुमा पूजा गर्न र तिहारमा देउसी खेल्न पनि प्रतिबन्ध लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जारी गरेको आदेशमा चाडपर्व मनाउँदा एकाघरमा बसोबास गरेका परिवारका सदस्यबीच मात्र मनाउन भनिएको छ। हिजोदेखि कोजाग्रत पूर्णिमा (१४ कात्तिक) सम्म साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक हिँडडुल गर्न र सवारी चलाउन प्रतिबन्ध लगाइएको छ।
जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्णय अनुसार जात्रा, मेला, महोत्सव गर्न र सहभागी हुन पनि प्रतिबन्ध लगाइएको आदेशमा उल्लेख छ। एकाघरमा चाड मनाउँदा पनि स्वास्थ्य मापदण्ड पूरा गर्न आग्रह गरिएको छ।
त्यस्तै चाडपर्वका अवसरमा भेला भएर शुभकामना दिन रोक लगाइएको छ। ध्वनी प्रदूषण हुने गरी चर्को स्वरमा माइक बजाउन निषेध गरिएको छ। तिहारमा भेला भएर देउसी खेल्न पनि रोक लगाइएको छ। निशेधाज्ञा पालना नगर्नेलाई कानून बमोजिम कारबाही हुने पनि जिल्ला प्रशासनको आदेशमा उल्लेख छ।