आईपीएलमा मुम्बई र पञ्जाबबीच ४४ ओभरको टी २०, मुम्बईले गुमायो शीर्षस्थानमा पुग्ने मौका
इन्डियन्स प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स र किङ्स इलाभेन पञ्जाबबीचको खेल ४४ ओभरको भएको छ। दुई पटक स्कोर टाई भएपछि दुवै टीमले २२/२२ ओभर ब्याटिङ गरे।
नियमित २० ओभर सकिँदा दुवै टीमले १७६ रन बनाएका थिए। त्यसपछि भएको सुपर ओभरमा दुवै टीमले पाँच रन मात्र बनाउन सके। अन्तिम सुपर ओभरमा मुम्बईले दिएको १२ रनको लक्ष्य पार गर्दै पञ्जाबले जित हासिल गरेको हो। मुम्बइले हारसँगै दिल्लीलाइ उछिनेर पहिलो स्थानमा पुग्ने मौका गुमाएको छ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। ब्याटिङतर्फ मुम्बईका लागि क्विन्टन डी ककले ५३ तथा क्रुनाल पाण्डे र किरन पोलार्डलाई समान ३४/३४ रन बनाएका थिए।
१७७ रनको लक्ष पछ्याएको पञ्जाबका लागि केएल राहुलले ७७ रन बनाएका थिए। त्यस्तै क्रिस गेल र निकोलास पुरनले २४/२४ रन बनाए। मुम्बईका लागि जसप्रित बुम्राहले तीन तथा राहुल चाहरले दुई विकेट लिए।
यो खेलपछि मुम्बईको नौ खेलबाट १२ अंक छ। उति नै खेल खेलेको दिल्लीको १४ अंक छ। आजको खेलमा मुम्बई विजयी भएको भए १४ अंकसहित रनरेटको आधारमा शीर्ष स्थानमा पुग्थ्यो। पञ्जाब भने ६ अंकसहिन अंकतालिकाको छैटौँ स्थानमा छ।
कोलकाता चौँथो स्थानमा यथावत्
आइपीएलमा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच आइतबार साँझ भएको खेलमा पनि स्कोर बराबरी भएको छ। त्यसपछि भएको सुपरओभरमा कोलकाता विजयी हुँदै अंक तालिकाको चौथो स्थानमा यथावत् रहेको छ।
पहिले ब्याटिङ गरेको कोलकताले पाँच विकेटको क्षतिमा १६३ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको हैदराबादले पनि ६ विकेटको क्षतिमा १६३ रन नै जोडेपछि स्कोर बराबी भएको हो।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको हैदराबादले तीन बलमा दुई विकेट गुमाएर दुई रन मात्र जोड्न सक्यो। हैदराबादका लागि डेभिड वार्नर र अब्दुल समादले ब्याटिङ गरेका थिए।
वार्नर पहिलो बलमै आउट भए। दोस्रो बलमा समादले २ रन जोडे पनि उनी तेस्रो बलमा बोल्ड भए। सुपर ओभरमा दुई विकेट गएपछि थप ब्याटिङ गर्न पाइँदैन।
सुपर ओभरमा कोलकताका लागि कप्तान इयान मोर्गान र दिनेश कार्तिकले ब्याटिङ गरे। बलिङमा हैदरावादका रासिद खान आएका थिए। पहिलो बलमा मोर्गनले रन लिएनन्। दोस्रो बलमा उनले एक रन लिए। तेस्रो बलमा कार्तिकले रन नलिए पनि चौथो बलमा दुई रन लिएपछि कोलकाता विजयी भयो।
यसअघि १६४ रनको लक्ष्य पछ्याएको हैदराबादलाई जितका लागि अन्तिम ओभरमा १८ रन चाहिएको थियो। ब्याटिङमा रासिद खान र डेभिड वार्नर थिए। बलिङका लागि कोलकताका आन्द्रे रसेल आएका थिए।
पहिलो बल ‘नोबल’ थियो। दोस्रो, तेस्रो र चौथो बलमा वार्नरले लगातार तीन चौका प्रहार गरेका थिए। पाँचौ बलमा उनले २ रन लिएपछि अन्तिम बलमा जितका लागि २ रन चाहिएको थियो। तर वार्नरले एक रन मात्र लिन सके। जसकारण खेल सुपर ओभरमा धकेलिएको थियो।
हैदरावादका लागि वार्नरले नटआउट ४७ रन जोडेका थिए। बलिङमा कोलकताका लकी फर्ग्युसनले तीन विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताका लागि शुभमान गिलले ३६ र राहुल त्रिपाठीले २३ रन जोडेका थिए। नितिन रानाले २९ रन जोड्दा कप्तान इयान मोर्गानले ३४ रन र दिनेश कार्तिकले नटआउट २९ रन जोडे।
बलिङमा हैदरावादका टी नटराजनले २ विकेट लिए। चौथो स्थानमा रहेको कोलकताले जितसँगै ९ खेलबाट १० अंक जोडेको छ। ६ अंक जोडेको हैदरावाद पाँचौ स्थानमा छ।