कांग्रेस सांसद बालकृष्ण खाणले पनि फिर्ता गरे दशैं भत्ता
नेपाली कांग्रेसका सांसद बालकृष्ण खाणले पनि दशैं भत्ता फिर्ता गरेका छन्। अहिलेको विषम परिस्थितिमा आम नेपालीले अभाव, पीडा र कठिनाइ भोगिरहेकाले भत्ता लिनु उचित नहुने उनले बताएका छन्।
आइतबार संसद सचिवालयलाई भत्ता फिर्ताका लागि पत्र लेख्दै प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक समेत रहेका खाणले भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक, जनउत्तरदायी र उचित नभएको उल्लेख गरेका छन्।
‘मलाई प्राप्त भएको दशैं भत्ताबापतको रकम संसद सचिवालयमार्फत् जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने ब्यहोरा जानकारी गराउँदछु’, खाणले पत्रमा भनेका छन्। उनले उक्त रकम सरकारी कोषमा जम्मा हुने व्यवस्था मिलाउन पनि अनुरोध गरेका छन्।
यसअघि आइतबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीमबहादुर रावलले पनि दशैं भत्ता फिर्ता गरेका थिए। कोभिड-१९ महामारीको विषम परिस्थितिमा समेत सांसदहरूले दशैं भत्ता बुझेको भन्दै आलोचना भइरहेको छ।