स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नू
सरकार एकपछि अर्को गर्दै कोरोनाभाइरसको परीक्षण र उपचारबाट पछि हट्न थालेको छ। सरकारको पछिल्लो निर्णयानुसार अबदेखि नागरिकले कोभिड-१९ को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा आइतबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रूपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताए।
उनीहरूमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताए। तर, कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा परीक्षण र उपचार बीमा रकमबाट लिइने पनि उनले बताए।
अन्य सबै व्यक्तिको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने र यो व्यवस्था आइतबारदेखि नै लागू भएको पनि प्रवक्ता गौतमले बताए। उनले १९ असोजको मन्त्रिपरिषद्को निर्णय बमोजिम यस्तो व्यवस्था गरिएको स्पष्ट पारे। यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा लागू हुनेछ।
सबै निजी र सरकारी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूले कम्तिमा ५० प्रतिशत सबै किसिमका श्यया, आईसीयू लगायतका पूर्वाधारहरू कोभिड-१९ को उपचारका लागि छुट्याउनुपर्ने भएको छ।
यस्तै, पछिल्लो ३ दिन कुनैपनि लक्षण नभएमा १० दिनमा डिस्चार्ज गर्ने र त्यसरी डिस्चार्ज भएमा होम आइसोलेसनमा बस्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको समेत प्रवक्ता गौतमले बताए।