भर्चुअल माध्यमबाट वितरण गरियो मदन पुरस्कार र जगदम्बा-श्री
आइतबार भर्चुअल माध्यमबाट यो वर्षको मदन पुरस्कार तथा जगदम्बा-श्री सम्मान वितरण गरिएको छ। हरेक वर्ष घटस्थापनाको दोस्रो दिन मदन पुरस्कार र जगदम्बा-श्री बाँड्दै आएको मदन पुरस्कार गुठीले कोभिड-१९ महामारीका कारण योपटक भर्चुअल कार्यक्रम गरेको हो। गुठीको इतिहासमा मदन पुरस्कार तथा जगदम्बा-श्री सम्मान वितरणको यो पहिलो भर्चुअल कार्यक्रम हो।
समारोहमा भारतको नैनीतालबाट इतिहासकार शेखर पाठकले विद्वद् प्रवचन दिए भने यो वर्षको जगदम्बा-श्री सम्मानबाट सम्मानित हुने शान्ति ठटाल सिलिगुडी र मदन पुरस्कार विजेता पुस्तक ‘महारानी’का लेखक चन्द्रप्रकाश बानियाँ पोखराबाट समारोहमा जोडिए।
समारोहमा पाठकले ‘यो बाटो कहाँ जान्या होला’ शीर्षकमा प्रस्तुत गरेको आफ्नो विद्वद् प्रवचनमा महाकाली नदी वारिपारिको ऐतिहासिक सम्बन्धका विषयमा चर्चा गरे। उनले त्यस क्षेत्रको भाषा, कला, साहित्य र संस्कृतिका विषयमा टिप्पणी गरे।
जगदम्बा-श्री सम्मानित ठटालले आफ्नो सांगीतिक यात्राको चर्चा गरिन्। उनले जगदम्बा–श्री प्राप्त गरेको खबरले आफू निकै भाव विह्वल बनाएको स्मरण गरिन्।
सन् १९५५ देखि संगीतमा सक्रिय ठटालले कलकत्ताको रविन्द्र भारती संगीत विश्वविद्यालयबाट कण्ठ संगीतमा तीन वर्षे डिप्लोमा गरेकी थिइन्। ‘परालको आगो’ ‘बाँच्न चाहनेहरू’ आदि चलचित्रमा संगीत दिएकी ठटाल नेपाली फिल्मको पहिलो महिला संगीतकारको रूपमा पनि परिचित छन्।
त्यसबाहेक उनले नृत्यनाटिका, गीति नाटक, रेडियो रुपक, गद्य संगीत आदि विभिन्न विधामा संगीत गरेकी छन्।
पोखराबाट जोडिएका महारानीका लेखक बानियाँले महारानी उपन्यास लेखन पछाडिका तयारी र अनुभवहरू सुनाए। उनले आफ्नो पुस्तकमा स्मृतिको गर्भमा रहेको घटना उधिनिएको बताए।
उनले आफूपनि त्यही भेगमा जन्मिएको उल्लेख गर्दै महारानीसँग जोडिएका किंवदन्ती र कहानी सुन्दै हुर्किएको स्मरण गरे। आफूले सुन्दै आएको किंवन्दती र कहानीलाई थप अध्ययन र अनुसन्धान गरि उपन्यास तयार पारेको बानिँयाले बताए।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार आइतबार प्रवचन र मन्तव्यको कार्यक्रम मात्र भएको हो। महामारीपछि गुठीका सदस्यहरू सिलिगुडी र पोखरा गएर जगदम्बा-श्री तथा मदन पुरस्कार सम्मान हस्तान्तरण गर्ने कार्यक्रम रहेको मदन पुरस्कार गुठीले जनाएको छ।
यसअघि पारसमणि प्रधान अस्वस्थ हुँदा पनि घरमै पुगेर पुरस्कार दिइएको थियो। मदन पुरस्कार गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बा-श्री प्रदान गर्दै आएको छ।