कोभिडसँग लड्ने क्षमता बढाउन के खाने ? यस्तो छ विज्ञहरूको सुझाव
कोभिड-१९ संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा समेत ध्यान दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्। पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लड्ने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरूले बताएका छन्। त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरूको सुझाव छ।
आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुरामा विशेष ध्यान दिनुपर्ने बताए। उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरू कम खानुपर्छ। बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरूमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरूको प्रयोग गर्दा ख्याल गर्न समेत उनको सुझाव छ।
त्यस्तै, बोइलर कुखुराको मासु धेरै नखान समेत डा. कोइरालाले आग्रह गरे। बोइलर कुखुरामा धेरै एन्टीबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइड समेत भएकाले त्यसको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाइ छ।
त्यस्तै, खसीबोकाको उपभोग पनि कम गर्न उनको सुझाव छ। विभिन्न पेय पदार्थको समेत कम प्रयोग गर्नुपर्ने उनी बताउँछन्। दिनको एक/दुई वटा कागतिको सेवन गर्ने, पुदिना, भाङ, तिल लगायतका बस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानीले रोगब्याधी कम गराउने डा. कोइराला बताँछन्।
धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरूको प्रयोग नगर्न समेत उनको सुझाव छ। सादा खाना खान र शरीरभित्र कुनैपनि प्रकारको भार नपर्नेगरी खानपनि गर्न उनको अनुरोध छ। शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागति लगायतको सेवन गर्नु उपयुक्त हुने डा. कोइरालाले बताए। त्यसबाहेक नियमित व्यायाम गर्दा समेत शरीरमा फाइदा पुग्छ।
योग, खानपिन, आयुर्वेदका जडीबुटी र मनोविज्ञानका पक्षहरूमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा डा. कोइरालाको सुझाव छ।
भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दशैंको बेला शहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताए। दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरू अपनाउन सकिने उनको सुझाव छ।
घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुनु भन्दा अलग्गै बस्न उनको अनुरोध छ। खाना खाँदा दूरी कायम गर्ने, दशैंमा टीका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भीडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको सुझाव छ।