नेपालको प्रवर्द्धन गर्ने विदेशीलाई निःशुल्क हवाई टिकट
नेपालको प्रवर्द्धन गर्ने गरी नेपाल पर्यटन बोर्डको निमन्त्रणामा नेपाल भ्रमणमा आउने विदेशी सञ्चारकर्मी, ब्लगर तथा लेखकलाई नेपाल वायुसेवा निगमले निःशुल्क टिकट उपलब्ध गराउने भएको छ। नेपाल पर्यटन बोर्ड र निगमबीच आइतबार भएको सम्झौता अनुसार निगमका विभिन्न नौ वटा अन्तर्राष्ट्रिय गन्तव्यबाट आउने आमन्त्रित व्यक्तिलाई टिकट उपलब्ध गराइनेछ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृति (सीईओ) धनन्जय रेग्मीले निगमले एउटा गन्तव्यबाट ९ जनाका दरले टिकट उपलब्ध गराउने गरी निगमसँग सम्झौता भएको छ। यस्तो सम्झौताबाट वर्षमा करीब ८० जना विदेशीले नेपाल भ्रमण गर्ने र नेपालको प्रवर्द्धन अन्तार्राष्ट्रियस्तरमा गर्ने उनी बताउँछन्।
निगम र बोर्डबीच भएको यस्तो सम्झौतामा दुवै निकायले नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धमा सहकार्य गर्ने, बोर्ड पुगेको स्थानमा निगमको प्रवर्द्धन गर्ने, निगमले पनि बोर्डलाई पर्यटन प्रवर्द्धनमा सहजीकरण गर्नेसहितको सम्झौता भएको छ।
यस्तो सम्झौताले कोरोना महामारीले थिचिएको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र दुवै पक्षलाई लाभ हुने निगमले सम्झौतापछि जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। निगमले विगतदेखि नै नेपालमा विदेशी पर्यटकहरू ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा यी दुई संस्थाबीचको सहकार्यले अझ थप हौसला प्रदान गर्न सहयोगी हुने निगमले बताएको छ।
सम्झौताले निगम पुगेका बुद्धिष्ट पर्यटकीय गन्तव्यमा नेपालको प्याकेज बिक्री गर्ने, विदेशी पर्यटक नेपाल आउन प्रोत्साहन र प्रवर्द्धनमा निगमले सहयोग गर्ने, बोर्डले बनाएको प्याकेज बेच्न निगमले सहयोग गर्नेसहितको बोर्ड र निगम दुवैको हितमा सम्झौता भएको रेग्मीले बताए।