ब्यांकमा बढ्न थाल्यो सेवाग्राहीको भीड
कोभिड-१९ संक्रमणको जोखिमका बाबजुदपनि ब्यांक तथा वित्तीय संस्थाहरूमा ग्राहकको घुँइचो बढेको छ। ब्यांकहरूले सबै शाखा कार्यालयहरूमार्फत् सेवा दिएपनि पैसा राख्ने र झिक्नेहरूको संख्या बढेकाले भीडभाड बढेको देखिन्छ।
दशैं नजिकिदै गर्दा पैसा झिक्नेहरूको संख्या बढेकोले पनि भीड बढेको ब्यांकहरूले जनाएका छन्। कतिपय ब्यांक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरूको लाइन सडकसम्मै आएको देखिएको छ।
कतिपय ब्यांकहरूमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरू राखेर पूर्णरूपमा सेवा दिन नपाएकाले भीडभाड बढेको बैंकर्सहरू बताउँछन्।
ब्यांकहरूले डिजिटल बैंकिङमार्फत् भुक्तानी गर्ने व्यवस्था मिलाएपनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि ब्यांकसम्म पुग्नै पर्ने बाध्यता रहेको छ।
यस्तै, संक्रमण बढ्दै गएको अवस्थामा फेरिपनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरू पैसाको जोहो गर्न ब्यांकसम्म पुग्ने गरेका छन्।