सेनाको पृतनापति बैठक शुरू
नेपाली सेनाले आयोजना गरेको उच्च अधिकृतहरूको जमघट, पृतनापति समन्वयात्मक बैठक आइतबारदेखि शुरू भएको छ। तीन दिनसम्म चल्ने यो बैठकको प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गरे।
सेनाको पृतनापति समन्वयात्मक बैठकलाई सैनिक नीति निर्माण र निर्णय गर्नुअघिको महत्वपूर्ण बैठकका रूपमा लिइन्छ। बैठकको उदघाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गरेर यस्ता विषयमा नियमित अन्तरक्रिया भइरहनुपर्ने बताए।
त्यसक्रममा प्रधानमन्त्रीले दार्चुलाको घाँटीबगरदेखि छांग्रुसम्म सेनाले गोरेटो तथा घोडेटो बाटो निर्माण गरेकोमा प्रशंसा गरेका थिए। उनले सेनाको आधुनिकीकरण योजनामा सरकारको पूर्ण समर्थन र सहयोग रहने समेत उल्लेख गरे।
प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाभाइरस संक्रमणको महामारीबाट सिर्जित अन्योल, निराशा र आर्थिक गतिविधिमा आएको सुस्तताले सुरक्षा चुनौती बढ्ने उल्लेख गर्दै त्यसको सामना गर्ने सुरक्षाका उपायका लागि पनि बैठक फलदायी बन्ने विश्वास गरे।
बैठकमा काठमाडौं उपत्यकाभित्रका उच्च सैनिक अधिकृतहरू जंगी अड्डामा उपस्थित छन् भने काठमाडौं बाहिरका पृतनापतिहरू भर्चुअल रूपमा सहभागी भइरहेका छन्। सेनाले हरेक वर्ष पृतनापति बैठक आयोजना गर्ने गर्छ।