‘डम्पिङ साइट’का कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोखिममा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करीब अन्तिम चरणमा पुगेको छ। पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोड्न यो विमानस्थल महत्वपूर्ण हुने बताइएको छ। तर, विमानस्थलबाट नजिकै रहेको ‘डम्पिङ साइट’का कारण विमानस्थल जोखिममा परेको छ। यसतर्फ भने कसैको ध्यान जान सकेको छैन।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करीब ६५ प्रतिशत पुरा भइसकेको छ। विमानस्थल निर्माण हुँदै गर्दा यहाँबाट हुने हवाई उडानलाई सुरक्षित बनाउन विभिन्न काम गरिएका छन्। तर, पोखरा महानगरपालिका–१४ बाच्छेडाँडामा रहेको ‘डम्पिङ साइट’बाट हुने जोखिममा भने खासै ध्यान जान सकेको छैन।
अन्तर्राष्ट्रिय मान्यता अनुसार विमानस्थलबाट ५ किलोमिटरभित्र ‘डम्पिङ साइट’ हुनुहुँदैन। तर, यो ‘डम्पिङ साइट’ ५ किलोमिटर भित्रै पर्छ। विमानस्थलबाट ‘डम्पिङ साइट’ नजिक हुँदा चिल, गिद्ध लगायतबाट कुनैपनि चराचुरुङुगीबाट हवाई उडान जोखिममा पर्न सक्छ। त्यसैले पनि यो ठाउँबाट ‘डम्पिङ साइट’ हटाउनुपर्ने देखिन्छ।
पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईंले ‘डम्पिङ साइट’ हटाउने भन्दा पनि विमानस्थल वरिपरी चराचुरुङ्गीको व्यवस्थापन गर्न ‘बर्ड स्केरिङ डिभाइस’हरू राखिने बताए।
पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विमानस्थललाई खतरामुक्त बनाउनका लागि नयाँ डम्पिङ क्षेत्रको खोजीमा रहेको बताए। हाल बाच्छेडाँडामा रहेको ‘डम्पिङ साइट’को विकल्पमा माछापुच्छ्रे गाउँपालिकाको सार्दिखोलामा बनाउने योजना रहेको पनि उनले बताए।
पोखरामा आगन्तुक चराहरूको चहलपहल बढी हुने गर्छ। तर, फोहोरको थुप्रोमा विभिन्न किसिमका चराचुरुङ्गी रहने र तिनले विमानस्थल आसपासमा जोखिम बढाउने भएकाले त्यसको व्यवस्थापनका लागि हाल रहेको ‘डम्पिङ साइट’लाई तत्काल हटाउनुपर्ने विज्ञहरूको सुझाव छ।