पत्रकार महासंघका प्रतिनिधिसँग सञ्चारमन्त्रीको छलफल
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघका प्रतिनिधिसँग छलफल गरेका छन्। आइतबार बिहान पुल्चोकस्थित् निवासमा पुगेका महासंघका प्रतिनिधिसँग मन्त्री गुरुङले छलफल गरेका हुन्।
उनले आफू सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न केन्द्रित हुने बताए। पत्रकार महासंघलगायतका सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना रहेको पनि उनले बताए।
“सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ”, मन्त्री गुरुङले भने, “त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पुर्याउने विश्वास लिएको छु।”
भेटमा महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोनाभाइरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी सञ्चार क्षेत्रको पुनर्संरचना गर्न ढिलाइ नगर्न ध्यानाकर्षण गराए।
जवाफमा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या सरोकारवाला निकायसँग छलफल गरेर मात्रै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका उनका प्रेस संयोजक सन्तोष खड्काले बताएका छन्।