जागरण चित्रकला
कलाकार रञ्जु यादवले समाजमा व्याप्त विकृति, विसंगति र अन्यायलाई मिथिला चित्रकला मार्फत प्रहार गरेकी छन् ।
कक्षा ९ मा पढ्दा सप्तरी राजविराजकी रञ्जु यादवले आफ्नै गाउँकी एक महिलालाई परिवारका सदस्यहरुले कुटपिट गरेर हत्या गरेको थाहा पाइन्। दाइजो नल्याएकै कारण घटना भएको थाहा पाएपछि उनको बालमनलाई निकै छोयो ।
त्यसपछि पनि दाइजोकै कारण यस्ता घटना हुने गरेको उनले पटक–पटक सुन्न थालिन । त्यसबेला उनी दाइजो लगायतका समाजिक कुरितिविरुद्ध केही गर्न सक्ने अवस्थामा थिइनन् । तर, मनमा एक किसिमको छट्पटाहट थियो । यस्ता विकृतिविरुद्ध बोल्नुपर्छ भन्ने उनलाई लागिरहन्थ्यो ।
जब उनी उच्च शिक्षा अध्ययनसँगै ‘मिथिला पेन्टिङ’मा रमाउन थालिन्, अहिले भइरहेका मात्रै होइन बाल्यकालमा देखेका कुरितिलाई क्यानभासमा उतार्न थालिन । रञ्जु भन्छिन्– “सामाजिक कुसंस्कार विरुद्धको आवाज म चित्रकला मार्फत उजागर गर्छु ।”
यसक्रममा रञ्जुले १६–२२ चैतमा काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘कलर्स अफ चेन्ज’ थिमको एकल चित्रकला प्रदर्शनीको आयोजना गरिन् ।
सामाजिक विसंगत, अन्याय अत्याचारदेखि महिला सशक्तिकरण र सचेतनाको थिममा आधारित २९ वटा चित्रकला प्रदर्शनीमा राखिएको कलाकार यादव बताउँछिन् । “सामान्यतया मिथिला पेन्टिङमा तराई तथा मिथिला क्षेत्रको संस्कृति, परम्परा र जीवनशैलीलाई उतार्ने गरिन्छ ।” उनी भन्छिन्– “मैंले त्योभन्दा माथि उठेर ब्रस र रंगको सहायताले सामाजिक विसंगतिलाई प्रहार गर्ने प्रयास गरेकी छु ।”
मिथिला चित्रकला तराईको मात्रै नभएर मुलुककै ऐतिहासिक, साँस्कृतिक एवं मौलिक लोककला भएको यादव बताउँछिन् । प्रदर्शनीमा राखिएको चित्रकला विशेषगरी तराई र मुलुकभर व्याप्त दाइजो प्रथा, भ्रुण हत्या, बालविवाह विरुद्ध, वैदेशिक रोजगारीको समस्यादेखि महिला सशक्तिकरण, छोरीको शिक्षालगायतका विषयमा केन्द्रित छन् ।
“चित्रकला मार्फत नै मेरो असहमतिको स्वर प्रकट गरेकी हुँ ।” उनी भन्छिन्– “चित्रकला मार्फत समाजमा सचेतना, जागरण फैलाउनु मेरो उद्देश्य हो ।” मिथिला चित्रकलाले मिथिला संस्कृतिको मात्रै नभएर समग्र मुलुककै संस्कृतिलाई उच्च बनाएको उनको बुझाइ छ । सामाजिक विसंगतिमा मात्रै नभएर उनका चित्रकला नेपाली संस्कृति, विवाह, ब्रतवन्ध, चाडवाड, उत्सव लगायतमा पनि आधारित छन् ।
६ वर्षदेखि मिथिला चित्रकलामा सक्रिय यावद भन्छिन्– “कलाले विसंगति उजागार गरेको मात्रै छैन सकारात्मक सन्देश पनि प्रवाह गरेको छ ।” चित्रकला मार्फत मानविय संवेदना साथै सामाजिक सचेतनाको स्वर मुखरित हुने उनको भनाइ छ ।