सांसद भीम रावलले फिर्ता गरे दशैं भत्ता, भन्छन्- ‘जनप्रतिनिधिले भत्ता नलिने नीति बनाउनुपर्छ’
प्रतिनिधि सभाका सांसद भीमबहादुर रावलले दशैं भत्ता बापतको रू. ६४ हजार फिर्ता गरेका छन्। आइतबार दिउँसो संसद सचिवालयलाई ‘दशैं भत्ता बापतको रकम फिर्ता गरिएको’ भन्दै पठाएको पत्र उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सार्वजनिक गरेका छन्।
उनको पत्रमा भनिएको छ, ‘देशमा विषम परिस्थिति तथा आर्थिक कठिनाइमा रहेको बेला जनप्रतिनिधि, विशेषतः सांसदहरूका लागि दशैं भत्ता बापतको रकम उपलब्ध नगराउने निर्णय नै हुनुपर्ने हो। निवेदन दिनुपर्ने होइन तर, त्यसो नभएको र सचिवालयमा पत्र लेखेर फिर्ता गर्न मिल्ने भएकाले फिर्ता गर्न आग्रह गर्दछु।’
उनले पत्रमा यदि खातामा पैसा पठाएको भए आफूबाट चेक लिएर वा आगामी महीनाको पारिश्रमिकबाट सो रकम कट्टी हुने व्यवस्था गरी आफूलाई जानकारी दिन पत्रमा भनेका थिए।
केहीबेरपछि अर्को ट्वीट गर्दै उनले आफ्नो पत्रअनुसार संघीय संसद सचिवालयको लेखा शाखाबाट रू. ६४,०७० कात्तिक महीनाको पारिश्रमिकबाट कट्टी हुने गरी जानकारी गराएको उल्लेख गरेका छन्।
नेकपा प्रवक्ता एवं राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले ‘कोभिड-१९’ शुरू भएलगत्तै आफ्नो तलब तथा भत्ता र एक वर्षको सुविधा नलिने बताएका थिए।