मुगुको सोरु गाउँपालिकामा इलाका प्रशासन कार्यालयले पायो चार वर्षपछि प्रमुख
मुगुको सोरु गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय सोरुकोटले चार वर्षपछि प्रमुख पाएको छ। २०७३ पुसबाट कार्यालय प्रमुखविहीन थियो। आइतबारदेखि खड्गबहादुर बस्नेत कामु अधिकृतको रूपमा सोरुकोट इलाका प्रशासन कार्यालयमा हाजिर भई कामकाज शुरू गरेका छन्।
“चार वर्षपछि इलाका प्रशासनमा प्रमुख आएपछि हामी धेरै खुशी भयौं”, सोरु गाउँपालिका-२ का समाजसेवी नरबीर शाहीले भने, “अब नागरिकता बनाउन जिल्ला जानुपर्ने दुःख हट्यो। गाउँमै नागरिकता पाइने भयो।”
३ असार २०७३ मा स्थापना भएको इलाका प्रशासनमा अधिकृत दिलबहादुर पौडेल ६ महीनासम्म बसेर १५९ नागरिकता, २८ प्रतिलिपी नागरिकता र २ नाबालक परिचय पत्र वितरण गरेका थिए। पौडेल सरुवा भई गएपछि इलाका प्रशासन चार वर्षसम्म प्रमुखविहीन भई कार्यालय सहयोगीको भरमा चल्दै आएको थियो।
कार्यालयमा तत्काल सीआईएमएस सफ्टवेयर नभएकाले नागरिकता वितरण गर्न नसकिने र सफ्टवेयर जडान गरेपछि मात्र वितरण गरिने इलाका प्रशासन प्रमुख बस्नेतको भनाइ छ।
विगत वर्षमा हस्तलिखित नागरिकता वितरण गरिँदै आएको भएपनि अहिले सफ्टवेयरले गर्दा हस्तलिखित प्रणाली हटेको उनको भनाइ छ। गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखाबाट उक्त सफ्टवेयर कार्तिक महीनाभित्र जडान हुने बस्नेतको भनाइ छ।