कोरोना संक्रमण जोखिमलाई बेवास्ता गर्दै रौतहटमा कलशयात्रा
दशैंको पूजामा भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशलाई वेवास्ता गर्दै रौतहटका विभिन्न शक्तिपीठहरूमा सयौँको भीड देखिएको छ। घटस्थापनाको दिन जलाशयबाट कलशयात्रा गर्ने परम्परागत चलनअनुसार शनिबार कलशयात्रामा सयौँ सहभागी भए।
जिल्ला प्रशासन कार्यालय रौतहटले चाडपर्वको बेला हुने भीडभाडले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै ३० असोजमा भीडभाडलाई रोक्ने गरी निषेधाज्ञा जारी गरेको थियो।
प्रशासनले सबै शक्तिपीठ तथा मन्दिरहरूमा नित्य पूजाबाहेक दर्शनका लागि जमघट नगर्न, एकाघरमा बसोबास गर्दै आएका परिवारका सदस्यहरूको बीचमा मात्र मनाउन, अनावश्यक हिंडडुल नगर्न, भेला/जमघटमा नजान, जात्रा तथा मेला आयोजना नगर्न साथै त्यस्ता क्रियाकलापमा सहभागी नहुन, घरमै बसी पूजाआजा गर्न र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न भनेको थियो।
तर, यसलाई भक्तालुहरूले पालना गरेका छैनन्। रौतहटमा मात्र होइन पार्सका विभिन्न शक्तिपीठ तथा दशैंका लागि बनाइएको विशेष स्थानमा पनि कलशयात्रका लागि सयौंको भीड देखिएको छ। पर्साको गहवामाई मन्दिरमा अत्यधिक भीड भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा नै जारी गरेको छ।
पर्सा प्रशासनले गहवामाई, विर्तामाई, नगवा, विन्दवासिनीमाई लगायतका मन्दिरहरूमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ। मन्दिरमा नियमित पूजा हुने बताइएको छ।
देशभर कोरोना संक्रमण बढिरहेको र केन्द्र सरकारले पनि शक्तिपीठहरूलाई खुल्ला नगरेको भएपनि शक्तिपीठहरूमा भीड भने कम भएको छैन।