प्राकृतिक कारणले गैँडा धमाधम मर्न थालेपछि निकुञ्जले बनायो अध्ययन समिति
प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले मृत्युको कारण खोज्न समिति गठन गरेको छ। निकुञ्जले सहायक संरक्षण अधिकृत ऋषि रानाभाटको संयोजकत्वमा समिति बनाएको हो।
समितिका सदस्यमा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछाने र त्यहीँका भेटेरिनरी डा. अमिर सडौला छन्। गैँडा मरेका क्षेत्रमा केही दिनमा स्थलगत अध्ययन गरिने तथा बृहत् छलफल र विगतका तथ्याङ्कहरुको अध्ययन गरी कारण पहिचान गरिने संयोजक रानाभाटले बताए।
पछिल्लो समय प्रष्ट देखिन थालेको जलवायु परिवर्तनको असरसँगै बढेका मिचाहा प्रजाति र आकस्मिक बाढीले गैंडाको वासस्थान मात्र होइन, अस्तित्व नै संकटमा पर्न थालेको छ। चालु आर्थिक वर्षमा हालसम्ममा आठ गैँडा प्राकृतिक कारण तथा एउटा चोरी सिकारीबाट मरेका छन्। अधिकांश गैँडा कसरादेखि पश्चिमतर्फको क्षेत्रमा मरेका थिए। रानाभाटका अनुसार गैँडा मरेका ठाउँको स्थलगत अध्ययनसँगै हरेक गैँडाको मृत्युको कारण खोजी, बासस्थानको अवस्थालगायत विषयमा अध्ययन गरिने छ।
यसअघि पनि निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा गठित टोलीले प्राकृतिक कारणबाट गैँडा मर्नुको कारणको अध्ययन गरेको थियो। निकुञ्जमा प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको उपस्थितिमा भएको बैठकले स्थानीयस्तरमा समिति गठन गरी गैँडा मृत्युका कारण खोजी गर्ने निर्णय गरेको थियो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि त्यसको न्यूनीकरणका लागि उपायहरुको खोजी गर्न लागिएको हो। मुख्य रुपमा गैँडा बाढीले बगाएर, दलदलमा फसेर तथा एक अर्कोसँग जुधेर मर्ने गरेका छन्।
बाढीले बगाएका गैँडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ। नदी किनारका मानव निर्मित तटबन्ध पनि गैँडाका लागि बाधक बन्ने गरेका छन्।
नदीले बगाएका गैँडा तटबन्धका कारण सहजै नदीबाहिर आउन नसक्दा समस्या हुने गरेको उनले बताए। नदीले बगाएर गण्डक बाँध पार गरेपछि गैँडा बाहिर आउन कठिन हुने गरेको छ।
गत वर्ष प्राकृतिक कारणले निकुञ्जमा २६ गैँडा मरेका थिए। अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ४३ थियो। सन् २०१५ मा गरिएको गणनाअनुसार यो निकुञ्जमा ६०५ गैँडा छन्। त्यसयता गैँडा स्थानान्तरण र बाढीका कारण केही घटेका छन् भने प्रजनन भएर केही बढेको अनुमान छ।
हरेक चार–चार वर्षमा गैँडा गणना गरिन्छ। गत आर्थिक वर्षमा गैँडा गणना कोरोनाका कारण रोकिएको थियो। यस वर्ष गणना गर्ने कार्यक्रम रहेको निकुञ्जले जनाएको छ।