अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवार बाइडेन तथा ह्यारिसले दिए बडादशैँको शुभकामना
डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपति पदको उम्मेद्वार कमला ह्यारिसले हिन्दूहरुको चाड बडादशैँ (नवरात्री) को शुभकामना दिएका छन्।
दुवै जनाले समाजिक सञ्जाल ट्विटरमार्फट शुभकामना दिएका हुन्। राष्ट्रपति पदका उम्मेद्वार जो बाइडेनले आफू र आफ्नी पत्नी जिलका तर्फबाट अमेरिकी र संसारभरका हिन्दूलाई शुभकामना दिएका छन्।
उनले लेखेका छन्, “हिन्दू चाड नवरात्री शुरु भएको छ, जिल र म अमेरिका र संसारभर उत्सव मनाइरहेकाहरुलाई शुभकामना दिन्छौँ। फेरि एकपटक राम्रोले खराबविरुद्ध विजय प्राप्त गरोस्- र सबैलाई नयाँ शुरुआत र अवसरका लागि शुभकामना।”
उपराष्ट्रपति पदकी उम्मेदवार ह्यारिसले पनि श्रीमान् डोउग्लास इमहोफलाई मेन्सन गरेर दुवै जनाको तर्फबाट शुभकामना दिएकी छिन्। उनले लेखेकी छिन्, “डोउग्लास इमहोफ र म हाम्रा हिन्दू अमेरिकन साथीहरु र परिवार तथा नवरात्री मनाइरहेका सबैलाई शुभकामना दिन्छौँ। यो दिनले हामी सबैलाई हाम्रो समुदायलाई समृद्ध अमेरिकालाई न्याय र समावेशी बनाउन प्रेरित गरोस्।”
ह्यारिसकी आमा श्यामला गोपालन ह्यारिस भारतीय मूलकी अमेरिकी हुन्। उनका बाबु डोनाल्ड ह्यारिस भने जमैकन मूलका अमेरिकी हुन्। डोनाल्ड र श्यामला छुट्टिएपछि उनी आमा श्यामलासँग हुर्किएकी हुन्।
हिन्दूहरुको चाडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने शुभकामना दिएका छैनन्। उनी ३ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेद्वार पनि हुन्।