सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड-१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ। 'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं। हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. वैदेशिक रोजगारीमा जाने कामदारको पीसीआर जाँचमा यसरी भइरहेको छ सिन्डिकेट
हिमालय एयरलाइन्सले साउदी अरबिया जाने कामदारको पीसीआर परीक्षण सुरिया हेल्थ केयर प्रालीबाहेक अन्यत्र गरे रिपोर्टलाई मान्यता नै दिँदैन। अन्य देश जानका लागि पनि उसैले तोकेका तीन वटा प्रयोगशालाबाटै परीक्षण गर्नुपर्छ। जबकि, सरकारले ६२ वटा प्रयोगशालालाई मान्यता दिएको छ। - रामु सापकोटाको रिपोर्ट
२. नेचर गाइड दिदी बहिनी भन्छन्ः जंगलभित्र पाइला पाइलामा खतरा छ
खतरनाक वन्यजन्तुहरु भएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकलाई घुमाउँदा आफू मात्र नभइ पर्यटकको पनि सुरक्षा ख्याल गर्नुपर्छ। पथप्रदर्शक दिदी बहिनी सुशीला र मञ्जु क्षेत्री यो जोखिममा नै रमाइरहेका छन्। - मुकेश पोखरेलको रिपोर्ट
३. किन बाटो बिराउँदैछन् सहकारी ?
निश्चित मूल्य–मान्यतामा रहेर सदस्यको हितको लागि सहकारीहरु सञ्चालन हुनुपर्नेमा कतिपयले कमजोर व्यवस्थापन र सहकारी भावना विपरीत गएर विवादित बन्नुका साथै भरोसा गुमाउँदै गएका छन्। यसैले सहकारी अभियानमा वैचारिक स्पष्टता र साझा बुझाइ विकास गर्न आवश्यक देखिएको छ। - सरकारका सचिव गोपीनाथ मैनालीको विचार
४. निलम राय जो १६ वर्षदेखि हरेक दिन सडक सफा गरिरहेछन्
विराटनगर-१०, शान्तिचोकस्थित् धरमबांध रोडमा हरेक बिहान सडक सफाई गरिरहेका व्यक्तिलाई ‘मर्निङ वाकमा’ हिंड्ने जो कोहीले अभिवादन गर्छन्। १६ वर्षदेखि नियमित सडक सफाई गर्दै आएका निलम राय (४७) लाई यही कारणले सम्मान स्वरूप नमस्कार गर्ने र गाली गर्ने पनि छन्। - कमल रिमालको रिपोर्ट
५. बुढीगण्डकीमा बदनियत: यसरी भयो चलखेल
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत परियोजनाका नाममा रु.९ अर्ब कमिसन लेनदेन भएको आरोप लगाउनुका पछाडि परियोजनाका नाममा गरिएको अपारदर्शी र स्वार्थपूर्ण चलखेल मुख्य कारण हो। १२०० मेगावाट क्षमताको प्रस्तावित बूढीगण्डकी परियोजना निर्माणको जिम्मा हतारमा चिनियाँ कम्पनीलाई दिँदा सत्ता साझेदार दल माओवादी र नेपाली कांग्रेसका अतिरिक्ति तत्कालीन प्रमुख प्रतिपक्ष एमालेको पनि मौनसम्मति थियो। - रमेश कुमारको रिपोर्ट
६. कप्तान किरण चेम्जोङको खुलापत्र: 'खेलाडीहरूलाई परिवार पाल्न गाह्रो भयो, खेलकुद शुरू गरौं'
नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले राष्ट्रिय खेलकुद परिषद् र सरकारलाई खुलापत्र लेखेका छन्। मंगलबार फेसबुकमा खेलकुद तथा खेलाडीप्रति कसैले चासो नदेखाएको भन्दै ‘राष्ट्रिय खेलकुद परिषद् र सरकारलाई मेरो खुलापत्र’ भनेर कप्तान चेम्जोङले लामो खुला पत्र लेखेका हुन्। - हिमालखबरको समाचार
७. एक्स्क्लुसिभ: तत्कालीन प्रधानसेनापति प्यारजंग थापादेखि पूर्वआईजीपी रानासम्म मानवअधिकार उल्लंघनकर्ताको सूचीमा (सूचीसहित)
राष्ट्रिय मानवअधिकार आयोग स्रोतबाट हिमालखबर ले प्राप्त गरेको त्यस्तो सूचीमा आयोगले पछिल्लो २० वर्षको अवधिमा मानवअधिकार उल्लंघनकर्ताको रुपमा कारबाहीको सिफारिश गरेका २८६ जना व्यक्तिको नाम समावेश गरिएको छ। जसमा तत्कालीन प्रधानसेनापति प्यारजंग थापादेखि पूर्वसचिव नारायणगोपाल मलेगो र पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानासम्म छन्।
थप
८. नेवानिमा पौडेलको सहज नियुक्ति, अर्बौं ऋणले थिचिएको संस्था सुधार्ने कठिन चुनौती
रु.४६ अर्बको ऋणले थिचिरहेका बेला कोभिड–१९ महामारीका कारण थप थलिएको नेपाल वायुसेवा निगममा महाप्रबन्धक नियुक्त भएका डिमप्रसाद पौडेलसामु ऋण तिर्ने, किस्ता घटाउने र संस्था सुधारेर नाफामा लैजाने चुनौती छ। - राजु बास्कोटाको रिपोर्ट ।
थप पौडेलसँगको अन्तर्वार्ता ‘निगमको सुधार गरेर कुनै दाग नबोकी निस्किन्छु’
९. बलात्कारमा यसकारण अनुचित छ मृत्युदण्ड
बलात्कारपछि हत्या जस्ता गम्भीर अपराध बढ्दै जाँदा अपराधीलाई मृत्युदण्ड दिने कानून बनाउनुपर्ने माग बढ्दो छ। तर, मृत्युदण्डसम्बन्धी कानूनी व्यवस्था धेरै कारणले अनुपयुक्त हुनेछ। सांसद तहबाटै बलात्कारीलाई मृत्युदण्ड दिइने बहस उठन थालेपछि तुफान न्यौपानेको टिप्पणी ।
यसैविषयमा शेखर खरेलको थप टिप्पणी । बलात्कारीलाई मृत्युदण्ड !
१०. प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् हेरफेर, विष्णु पौडेल अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री
आन्तरिक शक्तिसंघर्ष सम्बोधन गर्न प्रधानमन्त्री एवं सत्तासिन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेका छन् । पुर्नगठनमा रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेलको मन्त्रालय खोसिएको छ र उनी प्रधानमन्त्रीको कार्यालयमा तानिएका छन् । अर्थमन्त्रीमा पार्टीका महासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल नियुक्त भएका छन् । तर, समग्र मन्त्रिमण्डल पुर्नगठनले कोभिड–१९ महामारी नियन्त्रण र खस्कदो सरकारी छवि उजिल्याउन जनमानसमा कुनै आशा दिलाउन नसकेको टिप्पणी गरिएको छ ।
थप
११. आफ्नै कारण घेराबन्दीमा देउवा
आगामी महाधिवेशनमा पुनः आफ्नै नेतृत्व सुनिश्चित गर्न कार्यकालको अन्तिम समयमा विधान विपरीत विभागको गठन र सदस्य मनोनीत गरेका कांग्रेस सभापति शेरबहादुर देउवाका लागि आफैंले गरेको काम प्रत्युत्पादक बन्ने जोखिम छ। - मुकेश पोखरेलको रिपोर्ट
१२. प्रतिष्ठित उद्योगीदेखि सांसद–ठेकेदारसम्मले बुझाएनन् मूल्य अभिबृद्धि कर, नबुझाउने सूचीमा २९ हजार करदाता
बर्षौंदेखि मूल्य अभिबृद्धि कर (भ्याट)को विवरण नबुझाउने र भ्याट नतिर्ने २९ हजार करदाताको विवरण आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको छ जसमा प्रतिष्ठित उद्योगपतिदेखि सांसद भइसकेका ठेकेदारहरुसमेत छन्। बसन्त चौधरीदेखि सुरज वैद्य अनि शारदाप्रसाद अधिकारीदेखि गोकुल बाँस्कोटासम्म कर नतिर्नेको यो सूचीमा छन् । सूचीसहितको विशेष सामग्री । - हिमालखबरको रिपोर्ट
थप
१३. माधव नेपाल समूहको साथ पाएपछि टर्यो कर्णालीका मुख्यमन्त्रीको संकट, मन्त्रिमण्डल पुनर्गठन हुँदै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको साथ पाएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ। संसदीय दलका नेता समेत रहेका शाहीविरुद्ध हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसद केन्द्रको निर्देशनपछि पछाडि हटेका छन्। आइतबार नेकपाका १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा हस्ताक्षर बुझाएका थिए। जसमा ३ जना पूर्वमाओवादी समूह र ७ जना नेपाल समूहका थिए। - हिमालखबरको रिपोर्ट
१४. चिनियाँ राष्ट्रपति आए, आशा जगाए तर केही नगरी बित्यो वर्ष
चिनियाँ राष्ट्रपति सी चिनफिङ एक वर्ष पहिले नेपाल भ्रमणमा आउँदा भएका द्विपक्षीय समझदारी कार्यान्वयनमा देखिएको सुस्तताले सरकार र राज्य संयन्त्रको कमजोर क्षमता मात्र उजागर गरेको छैन, चीनबाट लाभ लिन सक्ने ठूलो अवसर समेत गुम्दै गएको छ। - रमेश कुमारको विश्लेषणात्मक रिपोर्ट