चितवनमा एकै दिन तीन जना कोरोना संक्रमितको मृत्यु
चितवनका विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा शनिबार मृत्यु भएको हो।
मृतकमध्ये दुई जना चितवनका र एक जना रौतहटका रहेका छन्। भरतपुर अस्पतालमा उपचाररत रौतहटको माधवनारायण-७ की ७० वर्षीया महिलाको शनिबार बिहान ९ः२५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए।
२९ असोजमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई ती महिला आइसोलेसनमा भर्ना भएकी थिइन्। २८ असोजमा सङ्क्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन्।
यस्तै, शनिबार भरतपुर अस्पतालमा एक जनप्रतिनिधिको निधन भएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ का नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य कोरोना सङ्क्रमित ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको हो।
चितवन मेडिकल कलेज भरतपुरमा खैरहनी नगरपालिका-६ की ६८ वर्षीया सङ्क्रमित महिलाको पनि शनिबार बिहान मृत्यु भएको छ। कोभिड सघन उपचार कक्षमा उपचाररत ती महिलाको बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए।