भारतीय नागरिकको फ्ल्याटबाट बरामद भएको थियो साढे २२ किलो सुन
प्रहरीले पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीस्थित् गणेश अपार्टमेन्टको तेस्रो तलाको ३०३ नम्बर फ्ल्याटमा बस्ने भारतीय नागरिक अशोक सिन्हाको कोठाबाट उक्त सुन बरामद गरिएको एसपी गंगा पन्तले बताइन्।
उनका अनुसार सिन्हाको फ्ल्याटबाट २२ किलो ५७६ ग्राम सुन बरामद भएको हो। सुन तथा चाँदी लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाका आधारमा एसपी पन्तको नेतृत्वमा पुगेको प्रहरीले उक्त सुन बरादम गरेको हो। प्रहरीले सुनका मालिक भनिएका सिन्हालाई नियन्त्रणमा पनि लिएको छैन। प्रहरी पुग्दा उनी त्यहाँ थिएनन्।
प्रहरीका अनुसार सुनको एक किलोको बिस्कुट १३ वटा, मझौला बिस्कुट ४६ वटा (८.५७६ किलो) र सुनको बिस्कुट सानो १०० ग्रामको दरले १० वटा (१ किलो) बरामद भएको छ। यसैगरी, सुनका विभिन्न गरगहानाहरू जम्मा ६८१ ग्राम र चाँदीका गरगहाना तथा थाल लगायत भाडाकुँडा २.२६२ किलो बरामद भएको एसपी पन्तले बताइन्।
उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। यति धेरै परिमाणमा सुन किन राखिएको हो र यसमा को को संलग्न छन् भन्ने बारे अनुसन्धान भइरहेको एसपी पन्तले बताइन्।