घरेलु र कृषि विद्युत महसुल नगरपालिकाले तिरिदिने
रौतहटको एउटा नगरपालिकाले नगरवासीले प्रयोग गर्ने कृषि तथा घरेलु विद्युतको सम्पूर्ण महसुल तिर्ने निर्णय गरेको छ। रौतहटको फतुवा विजयपुर नगरपालिकाले चालु आर्थिक वर्षको असोज महीनादेखि २०७८ असार महीनासम्मको कृषि तथा घरेलु विद्युतको सम्पूर्ण महसुल तिरिदिने निर्णय गरेको हो।
गत असारको दोस्रो हप्तामै सम्पन्न हुनुपर्ने नगरसभा आन्तरिक विवादका कारण ढिलो गरी ३० असोजमा सम्पन्न भएको हो। चौंथो नगरसभाबाटै नगरपालिकाभित्रका उद्योग, कलकारखाना तथा व्यवसायबाहेक सम्पूर्ण कृषि तथा घरेलु विद्युतको महसुल नगरपालिकाले तिर्ने सर्वसम्मत निर्णय गरेको हो। कृषि तथा घरेलु विद्युत महसुल तिर्न नगरसभाबाट ७० लाख विनियोजन गरिएको छ।
नगर प्रमुख गोपाल राय यादवको अध्यक्षतामा भएको नगरसभामा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार गुप्ताले प्रस्तुत गरेको ५४ करोड २० लाख १३ हजार १९ रूपैयाँको बजेट नगरसभाले पारित गरेको छ। शिक्षा, यातायात, स्वास्थ्य, खानेपानी, विद्युत तथा भौतिक पूर्वाधार निर्माणलाई बजेटको विशेष प्राथमिकतामा राखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गुप्ताले बताए।
जिल्लाका विभिन्न स्थानीय तहले स्थानीयवासीलाई विभिन्न किसिमको सुविधा उपलब्ध गराउँदै आएको भएपनि सम्पूर्ण नगरवासीको विद्युत महसुल नगरपालिकाले नै तिर्ने निर्णय रौतहटमा पहिलोपटक फतुवा विजयपुर नगरपालिकाले नै गरेको हो। नगरसभाको निर्णयबाट नगरवासी खुशी भएको प्रतिक्रिया दिँदै नगर प्रमुख गोपाल राय यादवले यस वर्षदेखि अब कसैले पनि विद्युत महसुल तिर्न नपर्ने र सो महसुल नगरपालिकाले नै तिरिदिने बताए।
कृषि तथा घरायसी प्रयोजनको विद्युत महसुल नगरपालिकाले तिरिदिने निर्णय सकारात्मक भए पनि विद्युतको दुरुपयोग हुने सम्भावना रहेकोले विद्युतको दुरुपयोगलाई रोक्न नगरपालिकाले प्रभावकारी संयन्त्रको व्यवस्था गर्नुपर्ने बुद्धिजीवीहरूले सुझाव दिएका छन्।