महोत्तरीमा २१८ जनामा एचआइभी संक्रमण
महोत्तरीमा एचआइभी संक्रमितको संख्या २१८ पुगेको छ । यो संख्या जिल्ला अस्पतालमा औषधोपचार गराउन आउनेको मात्र हो । अस्पतालको सम्पर्कमा नआउनेलाई गणना गर्दा यो संख्यामा वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा राजीवकुमार झाका अनुसार एचआइभी संक्रमितमध्ये ८५ पुरुष, ११६ महिला, तीन तेस्रो लिंगी, आठ बालक र ६ बालिका रहेका छन् ।
जिल्ला अस्पताल जलेश्वरमा एचआइभी संक्रमितका लागि सञ्चालनमा रहेको औषधि वितरण तथा परामर्श शाखामा अहिले २१८ जना नियमितरूपमा सम्पर्कमा रहेका तथा औषधि सेवन गरिरहेका डा झाले बताए ।
उनका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि अहिलेसम्ममा मात्रै नयाँ बिरामी १९ जना थपिएका छन् भने विगत १० देखि १५ वर्ष अगाडिदेखि पनि संक्रमित जलेश्वर अस्पतालको नियमित सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन् ।
जनचेतनाको अभाव, भेदभाव र लाञ्छनाका कारण एचआइभी संक्रमितहरू चिकित्सक तथा स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले यो संख्या अझै बढ्न सक्ने अनुमान डा झाको छ ।