वडा सदस्यसहित तीन कोरोना सङ्क्रमितको मृत्यु
चितवन र बाँकेमा गरी तीन कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। चितवनमा खैरहनी नगरपालिका वडा नं. १२ का वडा सदस्यको मृत्युु भएको हो।
वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। उनी क्यान्सर रोगबाट पीडित थिए। पाण्डेको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनलाई २८ असोजमा सङ्क्रमण पुष्टि भएको थियो।
घरैमा आईसोलेसनमा रहेका उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको थियो। उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए। यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो।
उता बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गए राति नै मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं १०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १८, कारकाँदो निवासी १८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठका अनुसार २५ असोजमा अस्पताल भर्ना भएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो। उनलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाज्मा थेरापी लगायत सबै प्रकारको उपचार दिँदै गर्दा अवस्थामा सुधार नआएपछि आइसीयूमा राखिएको थियो। उपचारकै क्रममा गएराति ९ बजे मृत्यु भएको हो।
महिला भने श्वासप्रश्वासमा समस्या भएपछि २९ असोजमा अस्पताल भर्ना भएकी थिइन्। उनको गए राति १० बजे मृत्यु भएको हो। उनको पनि आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको हो।