कोलकातामाथि मुम्बईको सहज जित, दिल्लीलाई पछि पार्दै आईपीएलको शीर्षस्थानमा
हिजो राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई आठ विकेटले हराउँदै मुम्बई कम्तीमा २४ घन्टाको लागि इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्षस्थानमा पुगेको छ। दोस्रो स्थानमा झरेको दिल्लीले आजै राति चेन्नाई सुपर किङ्ससँग प्रतिश्पर्धा गर्दैछ।
हिजोको खेलमा कोलकाताले दिएको १४९ रनको लक्ष्य मुम्बईले १६.५ ओभरमै दुई विकेटको क्षतिमा भेट्टाएको थियो। उसका लागि क्विन्टन डि ककले ७८, रोहित शर्माले ३५ र हार्दिक पान्ड्याले २१ रन बनाएका थिए।
यसअघि टस जितेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा पाँच विकेट गुमाएर १४८ रन बनाएको थियो। उसका लागि प्याट कमिङ्सले ५३ र कप्तान इयान मोर्गानले ३९ रन बनाएका थिए। मुम्बईका लागि राहुल चाहरले दुई विकेट लिए।
जितसँगै मुम्बई आठ खेलमा १२ अंकसहित शीर्षस्थान पुगेको छ। समान खेलबाट १२ अंक नै भएको दिल्ली रनरेटका आधारमा तल परेको हो। आज राति हुने खेलमा दिल्लीले चेन्नाईलाई हराए पुनः शीर्षस्थानमा फर्किने छ।