कोरोना विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमा अत्यासलाग्दो गरी बढ्दैछ मानसिक तनाव
कोरोना कहरमा ज्यानको बाजी राखेर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुमा संक्रमणको डरसँगै अन्य मनोसामाजिक तथा व्यावसायिक जोखिमका कारण मानसिक तनाव चुलिंदो छ।
पीपीईभित्र हपक्क भएको शरीर, डाइपरको ओस र यस्तै अवस्थामा लगातार १५ दिनको लामो ड्यूटी !
यी सबका बावजुद ३२ वर्षीया डा. सलिना सापकोटा (नाम परिवर्तन) कोरोनाभाइरस संक्रमण महामारीले फेरिदिएको उपचार शैलीमा कत्ति पनि विचलित नभई खटिइरहेकी थिइन्। तर, जब उनको पोष्टिङ रात्रिकालीन ड्यूटीमा आईसीयू (सघन उपचार कक्ष) मा भयो, उनी विचलित हुन पुगिन्। आईसीयूमा आएका दीर्घरोगी कोरोना संक्रमितहरुको दयनीय अवस्था र मृत्यु दैनिक नजिकैबाट देख्नुपरेपछि भने सापकोटा आफैं मानसिक रूपमा बिरामी भइन्।
एकाएक निद्रा नलाग्ने, गल्ने, रिसाउने, आत्तिने र चिडचिडापन भई काममै असर गर्न थालेपछि भने सापकोटाले तीन महीनायता मनोपरामर्श लिइरहेकी छन्। एकातिर अस्पतालको नियमित अत्यासलाग्दो दृश्य र अर्कोतिर पारिवारिक सम्पर्कको अभावमा सापकोटामा नकारात्मकता बढेसँगै डिप्रेसन भएको मनोविद् गंगा पाठक बताउँछिन्।
कोरोनाको डरले यस्तै मनस्थितिबाट गुज्रन बाध्य काठमाडौंको एक शिक्षण अस्पतालमा कार्यरत २४ वर्षीया नर्स संक्रमितसँग दोहोरो संवाद नै गर्न नसक्ने भइन्। बिरामीलाई खोप लगाउँदा समेत उनका हात काँप्न थाले। राति निद्रामा तर्सिने, शिथिल हुने, डराउने, अनायासै रुन मन लाग्ने लगायत समस्या देखिएपछि परिवारबाट उनलाई जागिर छोड्ने दबाब समेत आयो। त्यस्तो परिस्थितिमा बारम्बार आत्महत्याको सोचाइ आएपछि उनलाई पाँच महीनायता औषधोपचार गरी मनोपरामर्श दिइरहेको मनोचिकित्सक डा. रितेश थापा बताउँछन्।
कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि ललितपुरका ३३ वर्षीय रेडियोलोजिष्टले बिरामीको प्रत्यक्ष सम्पर्कमा नआउने अनेकौं बहाना खोज्न थाले। विभिन्न अस्पतालमा धाएर नियमित जाँच गर्नुपर्ने उनको व्यावसायिक जीवनलाई कोरोनाको त्रासले बिथोलेपछि उनले अन्ततः आफूलाई कम्प्युटरको काममा मात्रै सीमित बनाए। यसरी व्यावसायिक कार्यशैलीमा आफूलाई कमजोर पाएपछि उनी एक महीनायता मनोपरामर्श लिइरहेका छन्।
ज्यानको बाजी राखेर कोरोना कहरमा अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मीहरु कोरोनाको डरसँगै अन्य मनोसामाजिक तथा व्यावसायिक जोखिमसँग पौठेजोरी खेल्न बाध्य भएको मनोचिकित्सक डा. थापा बताउँछन्।
चिन्ताजनक तथ्यांक
विश्व इतिहासमा हेर्दा जब–जब विश्वमा महामारी, युद्ध र संकट निम्तिन्छ, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु नै त्यसको जोखियुक्त घेरामा पर्ने गर्छन्। “चाहे त्यो इबोला होस्, सार्स या एनथ्राक्स, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुको मानसिक तथा सामाजिक जीवनमा यसले प्रत्यक्ष र दीर्घकालीन असर पारेका कैयौं दृष्टान्त छन्”, चिकित्सा मानवशास्त्री सचिन घिमिरे भन्छन्, “कोभिड–१९ पनि त्यसैको एउटा पछिल्लो उदाहरण हो।”
महामारीले मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रतिवेदन नै जारी गरी स्वास्थ्यकर्मीहरु थप जोखिम समूहमा रहेको उल्लेख गरेको छ। चीन, क्यानडा र इटालीमा गरिएको अध्ययनमा पनि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुमा मानसिक तथा मनोवैज्ञानिक समस्या देखिएको पाइएको छ। गएको फेब्रुअरीको पहिलो साता चीनका १ हजार २५७ स्वास्थ्यकर्मीमा गरिएको सर्वेक्षणमा आधाभन्दा बढी स्वास्थ्यकर्मीमा डिप्रेसन, एन्जाइटी (चिडचिडापन), अनिदोपन र थकान देखिएको थियो। यस्तो समस्या नेपालका स्वास्थ्यकर्मीहरुमा पनि पाइएको केही अध्ययनले देखाएका छन्।
२६ अप्रिलदेखि १२ मेसम्म नेपालका विविध सामुदायिक र निजी अस्पतालका अग्रपंक्तिमा खटिएका४७५ स्वास्थ्यकर्मीमा गरिएको अध्ययनमा ४१.९ प्रतिशतमा एन्जाइटी, ३७.५ प्रतिशतमा डिप्रेसन र ३३.९ प्रतिशतमा अनिदोपनको समस्या पाइएको छ।
गएको २६ अप्रिलदेखि १२ मेसम्म नेपालका विविध सामुदायिक र निजी अस्पतालका अग्रपंक्तिमा खटिएका ४७५ स्वास्थ्यकर्मीमा गरिएको अध्ययनमा ४१.९ प्रतिशतमा एन्जाइटी, ३७.५ प्रतिशतमा डिप्रेसन र ३३.९ प्रतिशतमा अनिदोपनको समस्या पाइएको छ। ‘मेन्टल हेल्थ इम्प्याक्टस अमोङ हेल्थ वर्कस ड्युरिङ कोभिड १९ इन अ लो रिर्सस सेटिङ: अ क्रस सेक्सनल सर्भे फ्रम नेपाल’ शीर्षकमा प्रकाशित उक्त अध्ययनले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आउने अन्य स्वास्थ्यकर्मीभन्दा नर्स थप जोखिममा रहेको निष्कर्ष निकालेको छ।
त्यसै गरी, गएको ११ मेदेखि १० जूनसम्म वीरगञ्जको नेशनल मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेज, बिर्तामोडको विर्तासिटी अस्पताल र धनगढीको निसर्ग अस्पतालका अग्रपंक्तिमा खटिइरहेका १५० स्वास्थ्यकर्मीमा गरिएको अध्ययनमा ३८ प्रतिशत स्वास्थ्यकर्मीमा एन्जाइटी र ८ प्रतिशतमा डिप्रेसन भएको पाइएको छ। ‘प्रिभेलेन्स अफ एन्जाइटी एन्ड डिप्रेसन अमोङ द हेल्थ केयर वर्कर्स ड्युरिङ द कोभिड १९ प्यान्डेमिक’ शीर्षकमा प्रकाशित यस अध्ययनले महामारी विरुद्ध अहोरात्र खट्ने स्वास्थ्यकर्मीहरु यस लडाइँको अभिन्न अंग हुँदाहुँदै पनि मनोवैज्ञानिक रोगको जोखिम मोल्न बाध्य भएको निष्कर्ष निकालेको छ।
त्यस्तै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा प्रकाशोन्मुख एक सर्वेक्षण अनुसार नेपालका सात वटै प्रदेशका विभिन्न अस्पतालका १ हजार ५१ स्वास्थ्यकर्मीमा गरिएको अध्ययनमा ६३.६ प्रतिशत स्वास्थ्यकर्मी सरकारको कामप्रति असन्तुष्ट रहेको पाइएको छ। ३५.९ प्रतिशत त महामारीमा काम गर्न नै अनिच्छुक सर्वेक्षणले देखाएको छ।
सन् २००३ र २०१५ मा सार्स र मार्सको महामारी फैलिँदा पनि यस्तै मानसिक तथा मनोवैज्ञानिक विचलनबाट गुज्रन बाध्य संसारभरका स्वास्थ्यकर्मी हाल पनि उस्तै नियति भोगिरहेका छन्।
शोषणमा स्वास्थ्यकर्मी
काठमाडौंको एक निजी अस्पतालमा कार्यरत विजिता बिसी (२३) हाल १२ घण्टा लगातार ड्युटी गर्न बाध्य छिन्। केही सहकर्मीमा कोरोना संक्रमण देखिएसँगै उनको कार्यालय समय बढे पनि तलब भने उति नै छ। बिसी भन्छिन्, “कामको चापले गर्दा होला, आजभोलि निकै थकान महसुस हुन्छ।”
यस्तै तनावका बीच ललितपुरको एकान्तकुनास्थित एक अस्पतालमा काम गर्दै आएकी ३५ वर्षीया स्टाफ नर्सले घरबाट अत्यधिक दबाब आएपछि बन्दाबन्दीकै बीचमा जागिर नै छोड्नुप¥यो।
महामारीमा काम गरिरहँदा स्वास्थ्यकर्मीहरुलाई सबैभन्दा खट्किएको पाटो हो, भावनात्मक र सामाजिक सहयोग। बिर्तामोड, झापाकी स्टाफ नर्स कल्पना अधिकारी भन्छिन्, “कति महीनादेखि घरमा खुलेर परिवारका सदस्यसँग अंकमाल गर्न नपाउनुको पीडा हामीभन्दा बढी कसलाई थाहा होला र ?”
यसरी कतै कामको अधिक चाप त कतै समाजको हेयपूर्ण दृष्टिकोण जस्ता कारणले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोवैज्ञानिक स्वास्थ्यमा खलल पुर्याएको छ। त्यसमा पनि, कतिपय स्वास्थ्यकर्मी त संक्रमणको जोखिमबाट जोगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को अभावमै काम गर्न बाध्य छन्।
हाल धनगढीको सेती प्रादेशिक अस्पतालका विभागीय प्रमुख रहेका नेपाल चिकित्सक संघका सुदूरपश्चिम प्रदेशका संयोजक एवम् वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रमोद जोशीको पनि यस्तै तीतो भोगाइ छ। बन्दाबन्दी भएसँगै भारतबाट नेपालमा कामदार प्रवेश प्रमुख नाका सुदूरपश्चिममा नै सबैभन्दा पहिला र धेरै संक्रमित देखिएको थियो। जोशी भन्छन्, “सीमित जनशक्ति भएकाले बिरामी तथा संक्रमितको चाप थेग्न गाह्रो छ। काम गर्ने वातावरण नभए पनि चाप बढी छ।” प्रोत्साहन केही पनि नभएको उनको अनुभव छ।
महामारीमा ज्यान जोखिममा राख्दै काम गर्दा पनि सेवा–सुविधामा शोषणमा परेपछि कतिपय स्वास्थ्यकर्मीले यही बेला असन्तुष्टि पोख्न थालेका छन्। डेढ महीनायता सामाजिक सञ्जाल मार्फत संगठित भई देशभरका करीब एक हजार नर्स आन्दोलनरत छन्। “१०/१५ हजार दिएर १०/१५ घण्टा खटाउँदा नर्सहरुको शोषण भइरहेको छ”, नर्स आन्दोलनको नेतृत्व लिएकी ज्योति रानाभाट भन्छिन्, “संक्रमितको सबैभन्दा सामीप्यमा रहेर काम गर्ने नर्सलाई नै आवश्यक पीपीई, भत्ता, बीमा, उपचार खर्च, पेशागत सुरक्षा र उपयुक्त क्वारेन्टिन/आइसोलेसनको व्यवस्था छैन।”
अस्पतालले निकालिदिएको, बेतलबी बिदामा राखेको र ६ महीनादेखि पारिश्रमिक नदिएका नर्सहरु आन्दोलनमा जोडिएको रानाभाटको भनाइ छ। “कतिलाई छोड्न नपाइने भनेर कन्ट्राक्ट गराएर कम तलबमै काम गर्न बाध्य पार्न खोजिएको छ भने कतिलाई सामूहिक अवकाश दिन लगाइएको छ”, उनी भनिछन्।
“१०/१५ हजार दिएर १०/१५ घण्टा खटाउँदा नर्सहरुको शोषण भइरहेको छ”, संक्रमितको सबैभन्दा सामीप्यमा रहेर काम गर्ने नर्सलाई नै आवश्यक पीपीई, भत्ता, बीमा, उपचार खर्च, पेशागत सुरक्षा र उपयुक्त क्वारेन्टिन/आइसोलेसनको व्यवस्था छैन।” - ज्योति रानाभाट, आन्दोलनरत नर्स
लामो विरोधपछि सरकारले हालै मात्र स्वास्थ्यकर्मीलाई तलब पठाएको ब्यांकिङ कागजात नदेखाए अस्पतालको नवीकरण रद्द गरिने बताएको छ।
स्वास्थ्यकर्मीहरू महामारीमा कस्तो असुविधा र जोखिममा काम गर्न बाध्य हुन्छन् भन्ने यो दृष्टान्त हेरौं। दुई महीनाअघि सुमेरु अस्पतालकी एक हाउसकिपिङ स्टाफको कोरोनासँग मिल्दोजुल्दो लक्षणबाट मृत्यु हुन पुग्यो। त्यसको एक सातापछि एक बिरामीमा कोरोना देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले कोरोना व्यवस्थापन र पीपीईको माग राखे। अस्पतालकी एक कर्मचारी नाम नबताउने शर्तमा भन्छिन्, “तीन दिनदेखि त्यस बिरामीको सम्पर्कमा आएको भए पनि अस्पताल प्रशासनले भने घटनाको सामान्यीकरण गरी सबै स्वास्थ्यकर्मीलाई पीपीई पनि नदिई खटायो।”
यसरी ज्यानकै माया मारेर काम गर्न नसकिने भन्दै एकैचोटि २७ जना स्वास्थ्यकर्मीले राजीनामा दिए। तर अस्पतालले उनीहरुको राजीनामा स्वीकृत गरेन। यस घटनापछि भने हाल अस्पतालले कोरोना व्यवस्थापनमा केही सुधार गरेको ती कर्मचारीको भनाइ छ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीर यो समस्यालाई सम्बोधन गर्न सरकारले मनोवैज्ञानिक रुपमै हस्तक्षेप गरी स्वास्थ्यकर्मीप्रति समाजमा व्याप्त हेयभावको प्रवृत्ति, कामको चाप र उनीहरुलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउनु जरुरी भएको बताउँछन्।
असंवेदनशीलता र असहिष्णुताको राप
कोभिड–१९ सिर्जित स्वास्थ्य संकटको विषम परिस्थितिमा डाक्टर, नर्स, प्राविधिक लगायत अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरु ‘नायक’ हुन्। उनीहरू अहिले आफ्नो व्यक्तिगत तथा सामाजिक जीवन नभनी दिनरात अस्पतालमा अहोरात्र खटिइरहेका छन्। तर, समाजका सदस्यका लागि जोखिम मोल्दै काम गरिरहेका उनीहरू समाजकै राप र तापमा परिरहेका छन्।
बन्दाबन्दी शुरु भएदेखि नै पेशागत जीवनमा बन्दी भएका उनीहरु दुर्व्यवहारका भागीदार भएको, घरबेटीबाट निकाला गरिएको, समाजद्वारा बहिष्कार गरिएका खबर नियमितजसो आइरहेका छन्। बिर्तामोड, झापाकी स्टाफ नर्स कल्पना अधिकारी यसैको एक पछिल्लो उदाहरण हुन्।
गएको १३ असोजमा कोरोना पुष्टि भएलगत्तै घरमै एकान्तबासमा बसिरहेकी कल्पनालाई छरछिमेक र टोलवासीले कोरोना फैलाउन लागेको आरोप लगाउँदै टोल छोड्न वडा कार्यालयमा उजुरी दिए। स्थानीयहरुको पहलमा उनको घरमा रातो झण्डा गाडियो। कोरोनाको विषम घडीमा परिवारले पटकपटक जागिर छोड्न दबाब दिँदा पनि अविचलित भई अग्रपंक्तिमा खटिएकी कल्पना यस अमानवीय हर्कत र असहिष्णुताप्रति फेसबूकमा आक्रोश पोख्न बाध्य भइन्, ‘कुनै दिन मैले अस्पतालबाट आएर खाजासम्म नखाएर घाउ ड्रेसिङ गरिदिन पुगेका टोल छिमेकका सदस्यहरु नै झन्डा गाड्न आइपुगे... । कठिन समयमा सबैभन्दा बढी खड्किने चीज नै भावनात्मक टेको रहेछ।’
टोलबाटै निष्कासन गर्न खोजिएकी स्वास्थ्यकर्मी कल्पनाको भोगाइ पहिलो घटना भने होइन। यसअघि चितवनस्थित भरतपुर सेन्ट्रल अस्पतालकी नर्सिङ इन्चार्ज रञ्जिता थापाले पनि ठीक यस्तै नियति भोग्नुपरेको थियो। गएको भदौ पहिलो साता कोरोना पुष्टि भएपछि टोल छिमेक नै उर्लिएर घर वरिपरि डोरी टाँग्ने, संक्रमितको घर लेखेको पाेस्टर टाँस्न दबाब दिने, घरमा प्रहरी बोलाउने लगायत उल्झनहरु उनले भोगेकी थिइन्।
यस्तै, गएको ६ भदौमा बानेश्वरको लर्डबुद्ध होस्टलमा सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई राखिएको थाहा पाएपछि सिंगो टोल नै उर्लिएर होस्टल घेरेको थियो।
२२ भदौमा बैतडीको सिगास गाउँपालिका–३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नम्बर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिंडेका स्वास्थ्यकर्मी भूपेन्द्र बोहरामाथि कुटपिट भएको थियो। एक बैठकका क्रममा सामाजिक दूरी र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले उनीमाथि हातपात नै गरेका थिए।
“महामारीको शुरुआती चरणमा दुर्व्यवहारका चरणबद्ध घटनाहरु अञ्जानमा र डरका कारण पनि सिर्जित भएका थिए, तर अब पनि यस्ता घटना हुनु हाम्रै समाजको असफलता हो।”
अरु त अरु, एकाबिहानै बिरामीको उपचार गर्न अस्पताल हिंडेका स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनालमाथि गएको ४ वैशाखमा बन्दाबन्दी उल्लंघन गरेको भन्दै धरान महानगरपालिका २० को पानवारीमा प्रहरीले कुटपिट गरेको थियो। त्यसै दिन काठमाडौं महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना आवासीय चिकित्सकमाथि ड्युटी सकेर फर्कने क्रममा प्रहरीले हातपात गर्नुका साथै लाठीचार्ज गरेको थियो।
गएको जेठ २१ गते डोटी जिल्लाको शिखर नगरपालिका ९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि कोरोना संक्रमण फैलाउने भन्दै तीन जनाको समूहले गालीगलौज गर्नुका साथै कुटपिट गरी गम्भीर घाइते बनाएको थियो।
विराटनगरको आइसोलेसन वार्डमा डाक्टरको कुटपिट, संखुवासभामा आइसोलेसन वार्डको तोडफोड, वीरगञ्ज छपकैयास्थित अस्पतालमा र डाक्टरमाथि स्थानीयद्वारा हातपात र तोडफोड, चितवनको रत्ननगरमा स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीहरुलाई टोल निषेध जस्ता घटनाहरु भए।
कोरोना कहरमा प्रत्यक्ष खटिएर सेवा दिएबापत सम्मान, इनाम, हौसला पाउनुपर्ने ठाउँमा उल्टै समाजको यस प्रकारको अमानवीय तथा असहिष्णु घटनाले स्वास्थ्यकर्मीहरुको मनोबल खस्काएको जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीर बताउँछन्। उनी भन्छन्, “महामारीको शुरुआती चरणमा दुर्व्यवहारका चरणबद्ध घटनाहरु अञ्जानमा र डरका कारण पनि सिर्जित भएका थिए, तर अब पनि यस्ता घटना हुनु हाम्रै समाजको असफलता हो।” नेपाल चिकित्सक संघका अनुसार, शुरुआती चरणमा मात्रै स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका ९० वटा उजुरी परेका थिए।
डब्लूएचओका नेपाल प्रतिनिधि डा. जस भ्यान्डलियरले स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति लक्षित गर्दै स्वास्थ्यकर्मीप्रति आभारी हुनुपर्नेमा जोड दिंदै भनेका थिए, “कुनै बेला स्वास्थ्यकर्मीहरुले काम गर्दैनौं भनेर छोडिदिए भने त्यो समयमा अस्पताल त हुन्छ, स्वास्थ्यकर्मी हुँदैनन्। सबै जना संक्रमित हुन सक्छन्, त्यसैले स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिलाई लाञ्छना लगाउने काम नगरौं।” यो असहिष्णुता चिर्ने गरी सचेतना फैलाउन नागरिक समाजका साथै सरकार उत्तरदायी हुनुपर्ने उनको बुझाइ छ। चिकित्सक संघको पहलमा हाल स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेमा कारबाही हुने व्यवस्था गरिएको छ।
चुकेको सरकार
मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहेको बेला अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंश्या मन्त्रालयका अनुसार, हालसम्म डाक्टर, नर्स र प्राविधिक लगायत अग्रपंक्तिमा बसेर काम गर्ने १ हजार ३७ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। हालसम्म कोरोना संक्रमणबाट चार जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
“एकातिर उपचार गर्ने पनि स्वास्थ्यकर्मी अर्कोतिर सम्भावित संक्रमण फैलाउन सक्ने भन्दै स्वास्थ्यकर्मीलाई नै प्रहार गरिनु विरोधाभास हो”, यस्ता घटना सरकारले समयमै जनचेतना फैलाउन नसक्नुको उपज हो।”
चिकित्सा मानवशास्त्री सचिन घिमिरे कोरोनाभाइरसलाई लक्षित गरेर सरकारले केवल गणितीय रुपमा पीसीआर परीक्षणका तथ्यांक प्रकाशन/प्रसारण गरेर जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाउँछन्। उनी भन्छन्, “जोखिम न्यूनीकरण गर्न सरकारले जनस्वास्थ्यको पाटो पटक्कै समेटेको छैन।” कोरोनालाई केवल ‘बायोमेडिकलाइज’ गरेर हेर्नाले सरकारले जनस्वास्थ्यका अन्य बृहत्तर पाटो– हेय, भेदभाव, शिक्षा, अर्थ, राजनीति, लगायत समष्टिगत आयाममा जनतालाई सम्बोधन गर्न चुकेको उनको टिप्पणी छ।
“एकातिर उपचार गर्ने पनि स्वास्थ्यकर्मी अर्कोतिर सम्भावित संक्रमण फैलाउन सक्ने भन्दै स्वास्थ्यकर्मीलाई नै प्रहार गरिनु विरोधाभास हो” घिमिरे भन्छन्, “यस्ता घटना सरकारले समयमै जनचेतना फैलाउन नसक्नुको उपज हो।”
नेपाल चिकित्सक संघका प्रवक्ता डा. विश्व दवाडी भने स्वास्थ्यकर्मीहरुको वस्तुगत र मनोवैज्ञानिक सहायताका लागि संघले सहयोग जुटाउने प्रयास भइरहेको बताउँछन्। संघका आजीवन सदस्य स्वास्थ्यकर्मीहरुलाई उद्धार, उचित व्यवस्थापन र सहज उपचारका लागि सहयोग गर्न आठ वटा टोली बनाई आकस्मिक यातायात, कोभिड बेड, आईसीयू, बीमा, आइसोलेसन र औषधिको व्यवस्था गरिएको दवाडी बताउँछन्। साथै, दुई चरणमा स्वास्थ्य उपकरणहरु जस्तै पीपीई, मास्क, स्यानिटाइजर उपलब्ध गराएको उनी दाबी गर्छन्।
कोरोना कहरले सिर्जित स्वास्थ्यकर्मीहरुको मनोवैज्ञानिक विचलनलाई सम्बोधन गर्न चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आपतकालीन मार्गनिर्देशनसहितको सूचना जारी गरेको थियो। साथै, वुहान शहरको स्थानीय सरकारले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई आराम गर्न र कामको अत्यधिक चापको दबाबबाट मुक्त राख्न सिफ्ट प्रणाली बनाएको थियो। यति मात्र होइन, मनोवैज्ञानिक टोली बनाएर प्राविधिक रुपमै सहयोगको व्यवस्था पनि गरेको थियो।
स्वास्थ्यकर्मीको भूमिकाबाट एकाएक बिरामीमा परिणत हुँदा निराशा, असहाय र हेलामा पर्ने डर लगायत समस्या देखिने गरेको विभिन्न अध्ययनले देखाएका छन्। संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने पेशागत जिम्मेवारी बहन गर्न उनीहरुलाई सामाजिक, भावनात्मक एवम् व्यावसायिक सुरक्षाको प्रत्याभूति गराउनु सरकारको प्रमुख दायित्व भएको डा. समीर बताउँछन्। “यो महामारी कहिलेसम्म लम्बिएला भन्ने अनिश्चित भएकाले यस विरुद्धको लडाइँमा स्वास्थ्यकर्मीहरुलाई जुझारु बनाइराख्न आवश्यक छ, त्यसैले सरकारले उनीहरुको मनोबल र आत्मसम्मानमा लगानी गर्दै प्रोत्साहन गर्नुपर्छ।”
‘बुझाएपछि समाजको हेर्ने नजर परिवर्तन हुँदोरहेछ’
- रञ्जिता थापा (२६), नर्सिङ इन्चार्ज, भरतपुर सेन्ट्रल अस्पताल
बन्दाबन्दीको शुरुआतमा लगातार ४८ घण्टासम्म निकै दयनीय अवस्थामा काम गर्दाको समय कहिल्यै भुल्न सक्दिनँ। उसै पनि चितवनको गर्मी, त्यसमा पनि पीपीईको उकुसमुकुसमा शिरदेखि तल डाइपरसम्म पसिना तररर बगेको अवस्थामा खटिएको थियो। यस्तो अत्यासलाग्दो दैनिकी देखेर बाबाले घरीघरी जागिर छोड्दे भन्नुहुन्थ्यो। तर, मैले मानिनँ।
गएको भदौमा कोरोना पुष्टि भएपछि त झन् घरमा सबैको होशहवास नै उड्यो। लगत्तै म अस्पतालको आइसोलेसनमा बस्न थालें। यता कोरोनाको डर आफूसँगै थियो, उता बाआमाले छरछिमेकीको टोकसो र मानसिक पीडा सहनुपरेछ। कोरोना संक्रमणभन्दा पनि अन्य कारणले तनावमा परें। घर वरिपरि डोरी टाँग्ने, पोस्टर किन नटाँसेको भनेर दुःख दिने, घरमा प्रहरी पठाउने जस्ता घटना भएछ।
त्यसपछि भने चुपचाप बस्न सकिनँ। फेसबूकमा लेखेँ। मेरो आवाज सञ्चारमाध्यममा आए।
लगत्तै १४ दिनको बसाइँपछि फर्किएर आउँदा टोल छरछिमेकले आफूले बुझ्न गल्ती गरेको स्वीकारिसक्नुभएको रहेछ। आजभोलि उहाँहरुको मानसिकता र व्यवहारमा निकै परिवर्तन आएको छ। आजकल सबैले मलाई सौहार्दतापूर्ण तरिकाले के कस्तो छ भनेर सोध्नुहुन्छ। उहाँहरु ‘तिमी बलियो रहेछौ, अब झन् बढी सचेत भई काम गर’ भन्नुहुन्छ।
आवाज उठाउने हो भने त समाजले पनि बुझ्ने अवसर पाउँदोरहेछ। समाज पनि सचेत हुँदोरहेछ।