‘बलात्कारी संगठन’ फेसबुक पेज बनाउने एक जना पक्राउ
प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ पेज बनाएर चलाउने एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्युठानको झिमरुक गाउँपालिका-७ घर भइ हाल नवलपुरको कावासोती नगरपालिका-१६ बस्ने १९ वर्षीय नवीन बस्नेत छन्। उनलाई प्रहरीको साइबर ब्यूरोको टोलीले शुक्रबार कावासोतीबाट पक्राउ गरेको हो।
ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले बस्नेतले फेसबुक पेज/ग्रुपमार्फत् बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने, महिलालाई हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचारविरुद्धको सामग्री पोस्ट गर्ने र प्रतिक्रिया जनाउने लगायतका काम गरेको बताएका छन्।
बस्नेतले गरेका गतिविधि विद्युतीय कारोबार ऐन २०६७ को दफा ४७ अन्तर्गतको कसुर मानिने एसएसपी अर्यालले बताएका छन्।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भइ जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को सहयोगमा बस्नेतलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।