कृषिमन्त्री भन्छन्- अहिलेकै व्यवस्थामा शिव र ब्रह्मा आएपनि पाँच लाख टन मल ल्याउन सम्भव छैन
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा ‘भगवान शिव र ब्रह्माजी’ आएपनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन्।
शुक्रबार ४०औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको पाँच लाख मेट्रिकटन मल अहिलेकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन्।
“आपूर्ति र अहिलेको मागको कुरा गर्ने हो भने हामीले ल्याउन खोजेको पाँच लाख मेट्रिकटन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रह्माजी आए भनेपनि सक्दैनन्”, मन्त्री भुसालले भने, “कलकत्ताकै पोष्टबाट आजकै तरिकाले ल्याउने हो दिनदिनै कलकत्ताबाट नेपाललाई एउटा डेडिकेटेड ट्रेन हुनुपर्छ।”
मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताए। अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तको बारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उनको भनाइ छ।
कृषि प्राविधिकहरूले प्रविधिभन्दा माथि उठेर काम गर्न सके मात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको मन्त्री भुसालले बताए।
कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर ‘इनपुट’मा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए। तर, त्यसमा पनि धेरै काम गर्न नसकेको मन्त्री भुसालले स्वीकारे।
किसानलाई ब्यांकको ब्याजदरमा अनुदान दिने बाहेक केही गर्न नसकेको उनको भनाइ छ। कार्यक्रममा बन्दाबन्दी तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरूलाई मन्त्री भुसालले सम्मान गरे।