उड्डयन प्राधिकरण भन्छ- ‘हिमालय एअरलाइन्सलाई दिइएको ग्राउन्ड ह्याण्डलिङ अनुमति रोकिएको मात्रै हो’
नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समयलाई अनुमति कार्यान्वयन रोकिएको जनाउँदै उपयुक्त समयमा हिमालय एअरलाइन्सलाई ‘ग्राउन्ड ह्याण्डलिङ’ सेवा सञ्चालन गर्न दिने संकेत गरेको छ।
प्राधिकरणले हिमालय एअरलाइन्सलाई २८ भदौमा दिएको ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’ सेवा सञ्चालनको अनुमति केही समयलाई मात्र रोकिएको जानकारी दिएको छ।
प्राधिकरणका महमानिर्देशक राजन पोखरेलले प्राधिकरण आफैंले बनाएको ‘ग्राउण्ड ह्याडलिङ’ निर्देशिका २०७२ को परिधिमा रहेर हिमालयलाई ‘सेल्फ ग्राउन्ड ह्याण्डलिङ’को अनुमति दिइएको र हाललाई त्यो अनुमतिको कार्यान्वयन मात्र रोकिएको हिमालखबरलाई बताए।
एउटा नेपाली वायुसेवाले अर्कोसँग नभएर विदेशी वायुसेवासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपाली वायुसेवालाई प्रवर्द्धन गर्न यो निर्णय गरिएको उल्लेख गर्दै उनले भने, ‘‘नियम अनुसार नै सातामा कम्तिमा २५ वटा उडान गर्ने नेपाली वायुसेवालाई आफ्नो भूमिस्थ प्रबन्ध आफैं गर्ने सेवा सञ्चालन गर्न दिन सकिन्छ भन्ने व्यवस्था छ। त्यही व्यवस्था बमोजिम हिमालय एअरलाइन्सले आफ्नो उडान सीमा पुर्याएर अनुमति पाएको हो।’’
हिमाललाई यस्तो अनुमति दिएर नेपाल वायुसेवा निगम (नेवानि)को भाग खोस्न खोजेको र हिमालयलाई व्यावसायिक ग्राउण्ड ह्याण्डलिङमा प्रवेश गराउन खोजिएको भन्दै विरोध भएपछि ११ असोजमा पर्यटनमन्त्री योगेश भट्टराईले उक्त अनुमति तत्काल कार्यान्वयन नगर्न प्राधिकरणलाई निर्देशन दिएका थिए। मन्त्रीकै निर्देशन अनुसार प्राधिकरणले हिमालयलाई दिइएको उक्त अनुमति कार्यान्वयन गर्न रोकेको भएपनि अनुकुल समय मिलाएर सेवा सञ्चालन गर्ने स्वीकृति दिने संकेत गरेको छ।
प्राधिकरणले आवश्यक शर्त तोकेर यस्तो अनुमति दिएको थियो। शर्त पूरा गरेर आएमा र आवश्यक उपकरण ल्याएर पूर्वाधार तयार पारेमा हिमालयले आफ्नो भूमिस्थ प्रबन्ध सेवा आफैं गर्नसक्ने प्राधिकरणको भनाइ छ।
प्राधिकरणले विदेशी वायुसेवा थाइ एअर र एअर इण्डियालाई वर्षौंदेखि दिएको यस्तो सेल्फ ह्याण्डलिङको सुविधा अब रोक्ने भएको छ। नेपाल वायुसेवा निगमलाई गौतमबुद्ध विमानस्थलको ह्याण्डलिङ दिने र सोही आधारमा हिमालयलाई पनि सेल्फ ह्याण्डलिङ दिइने प्राधिकरणका अधिकारी बताउँछन्।
नियम अनुसार कुनै पनि नेपाली वायुसेवालाई तोकिएको सेवा सुविधा दिँदा कुनै समस्या नहुने प्राधिकरणको तर्क छ। हिमालयलाई यस्तो अनुमति दिइएपछि नेपाल वायुसेवा निगमले आफ्नो भाग खोस्न खोजिएको भन्दै औपचारिक रूपमै विरोध गरेको थियो। राष्ट्रिय ध्वजावाहकलाई संकटमा पार्ने निर्णय फिर्ता लिन समेत उसले माग गरेको थियो।