सुर्नया गाउँपालिका अध्यक्षमाथि कुटपिट गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
नेपाली कांग्रेसले बैतडीको सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर विष्टलाई कुटपिट गर्नेहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ।
कांग्रेस बैतडीका सचिव समेत रहेका विष्टलाई २८ असोजमा कुटपिट गरिएको थियो। घटना घटेको दुई दिन बितिसक्दा पनि संलग्न व्यक्तिलाई कुनै कारबाही नहुनु अन्त्यन्तै दुःखद् भएको कांग्रेसको भनाइ छ।
‘गाउँपालिका मुकामको सामान्य विषयलाई लिएर जनप्रतिनिधिमाथि गरेको कुटपिटको घटनामा संलग्न व्यक्तिहरूको तत्काल खोजी गरी कडा भन्दा कडा कानूनी कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ’, कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।